बाँकेको कोहलपुरको चौराहमा रहेको पार्कको स्तरोन्नती गरीने भएको छ । पश्चिम नेपालकै मुख्य प्रवेशद्धारको रुपमा रहेको कोहलपुर चौराहसँगै रहेको पार्कको विषयमा काँचुली खबरमा समाचार प्रकाशित भएपछि त्यसको स्तरोन्नती हुने भएको हो ।
कोहलपुर चौराहमा रहेको पार्कको संरक्षण तथा मर्मतको जिम्मेवारी लिएको सिद्धार्थ ग्रुपले उक्त पार्क र त्यसभित्र रहेको स्तम्भको स्तरोन्नती गर्ने भएको हो । सिद्धार्थ ग्रुपको पश्चिम क्षेत्र प्रमुख केशव न्यौपानेले पार्कका बारेमा समाचार प्रकाशित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन । ‘स्तम्भमा लगाईएको १०/१२ वटा टायल खसेका छन’, न्यौपानेले भने, ‘हामी छिट्टै स्तम्भका सबै टायल फेर्ने योजनामा छौं ।’
निरन्तरको झरीका कारण तत्काल उक्त योजना कार्यान्वयनमा ल्याउन समस्या देखिएको उल्लेख गर्दै न्यौपानेले भदौं महिनाभित्र स्तम्भमा नयाँ टायल लगाईसक्ने प्रतिवद्धता समेत जनाएका छन । न्यौपानेका अनुसार पार्कको हेरचाहकालागि दैनिक एक जना कर्मचारी खटिदैं आएका छन ।
२ वर्ष पहिले तत्कालिन संघिय सरकारका शहरी विकास मन्त्री ईश्तियाक मोहम्मद राईले उक्त पार्कको उद्घाटन गरेका थिए । निर्माण सम्पन्न भएर उद्घाटन भएको २ वर्षको अवधिमै पार्कको बिच भागमा रहेको स्तम्भमा लगाईएको टाईल खस्न थालेका हुन । जसका कारण स्तम्भ नै कुरुप देखिन थालेको थियो ।
कोहलपुर नगरपालिकासँगको सहकार्यमा सिद्धार्थ हस्पिटालिटी ग्रुपले ५० लाख लागतमा निर्माण गरेको उक्त पार्क १५ वर्षसम्मकालागि रेखदेखको सम्पुर्ण जिम्मेवारी आफैले लिएको छ ।
१७ हजार ५ सय वर्ग फिटमा फैलिएको कोहलपुर चौराहको पार्कमा हाईमष्ट लाइटिङसहित पानीको फोहरा र विश्रामस्थल निर्माण गरीएको छ । पार्कमा रहेको स्तम्भको माथिल्लो भागमा बाघको प्रतिमा समेत राखिएको छ ।
कोहलपुरमा ‘बिरोलो’ आतङ्क !
२९ श्रावण २०७८, शुक्रबार ०९:३२ प्रकाशित