म धेरै पुरानो कुरा त उल्लेख गर्न चाहदैन किनकि भोगेको कुरा उल्लेख गर्नु बस्तुगत हुन्छ नकि काल्पनिक । मैले एसएलसी दिएको २०५३ सालमा हो । मलाई सम्झना भएसम्म २०४९ सम्मको एसएलसी जो मेरा गाउँघरका दाइहरूले उत्तीर्ण गर्नु भएको थियो, हो त्यो क्षण मलाई याद छ । २०५० सालको कुरा हो, हाम्रो गाउँका तीनजना दाइहरूले एसएलसी दिएर परीक्षाफलको पर्खाइमा हुनुहुन्थ्यो । यस्तै चैत्र कि आषाढ ! रेडियोबाट एसएलसी परीक्षाको रिजल्ट आयो भन्ने सुनियो । म सानो फुच्चे सात कक्षामा पढ्थे । १२ वर्षको उमेरमा धेरै ज्ञात त हुने कुरा भएन तर उक्त परीक्षाको पर्खाइमा बस्नुभएको दाइसँग म पढ्नका लागि सधैँ राती उहाँकै घर जान्थे । दाइसँग सँगै सुत्थे । त्यो रात जुन दिन परीक्षाफल प्रकाशन भएको थियो, दाइ रातभर एक पल पनि सुत्नु भएन किनकि परीक्षाफल प्रकाशित भयो तर अन्य सुविधा छैन । गोरखापत्र आउनु त के उक्त गोरखापत्र हेर्नलागि बजार जानु पर्ने । जहाँ बिहान हिँडेपछि करिब ७ घण्टापश्चात् पुगिन्थ्यो । त्यही पनि उक्त बजारमा आउन राजधानी देखि दुई दिन लाग्ने । तीन दिनसम्म दाइ के भो होला भन्दै छट्पटिरहेको अझै याद छ ।
चार दिन पछि बजारका आफन्तले रू. १००।- तिरेर गोरखापत्र नै किनेर लिएर आउनु भयो । त्यो ब्याचबाट तीनजना दाइले परीक्षा दिएको तर एउटा दाइको रिजल्ट बिग्रेको अरु दुई दाजुको रिजल्ट सफल भएको सुनेँ । मलाई लाग्छ उक्त रिजल्टको यति प्रचार पायो कि प्युठान जिल्लाभर चर्चा चल्यो । मलाई सम्झना भएसम्म दुई दाजु मिलेर ३४ किलोको खसी काटेर पुरै गाउँलाई भोज खुवाउनु भयो । बधाई दिन आउने मान्छेको घुइँचो ! अझै त्यो पल याद गर्दा अचम्म लाग्छ । केही महिनापछि निजहरूलाई विद्यालयमा शिक्षक हुन अनुरोध गरियो तर उहाँहरूले मान्नु भएन र उच्च शिक्षाका लागि बजार जानू भयो । ग्रामीण भेग, किसानका छोरा ! एसएलसी पास गरेर बजार पढ्न जाने भनेपछि त्यो कुराको चर्चा सायद धेरैसम्म पनि गुन्जिरह्यो ।
उक्त कुराले मलाई असाध्यै छोयो । म बबुरो ! सात कक्षामा पढ्दा देखेको उक्त दृश्यले मेरो मुटुलाई छोएको थियो । समय न हो आफ्नै गतिमा अगाडि बढ्छ नै । एसएलसी दिने दिन पनि आयो । कसैले मेरो बुवालाई छोरोले कतिमा पढ्छ भन्दा बुवाले गौरवसाथ भन्नुहुन्थ्यो ‘दशमा’ । दश कक्षा भन्ने शब्दले मेरो मात्र होइन बुवा र प्रश्न सोध्ने प्रश्नकर्ता पनि गौरवले प्रफुल्ल हुन्थे किनकि दस भनेको फलामे ढोका भनिन्थ्यो । गाउँ अझ किसानको छोरो ! दश पढ्नु सामान्य थिएन । अन्ततः एसएलसी दिइयो, रिजल्ट आयो, पास भइयो तर दाइहरू झै चार दिन पर्खनु परेन दुई दिन मै रिजल्ट सुनियो । मलाई लाग्छ त्यो क्षण मेरी हजुर आमा, आमाबुवा यति धेरै खुसी हुनु भयो त्यत्ति खुसी अझैसम्म मैले मेरो आमाबुवामा दोस्रो पटक देख्न सकेको छैन । जता ततै चर्चा, कुन डिभिजन त धेरै टाढाका कुरा भए । ६०% लिए प्रथम श्रेणी । प्रथम श्रेणी लिएर पास गर्ने त नगन्य हुन्थ्यो । हाम्रो त त्यो सपना नै भयो किनकि अँग्रेजीमा वाच्य हुन्छ भन्ने र गणितमा ज्योमेट्री पढ्नु पर्छ भनेर सुनेको टेस्ट पास भएर बजारमा ट्युसन पढ्न गएको बेला हो, जुन बेला एसएलसी आउन १०/१५ दिन बाँकी हुँदो होला । यद्यपि पास मात्र भए पनि जताततै वाह ! वाह !! सायद त्यत्तिको खुसी मैले स्नातकोत्तर तहमा महेन्द्र बहुमुखी क्याम्पसमा टप गर्दा पनि भएन । त्यो खुसी ! त्यो पल ! त्यो इज्जत !
झन कोरोना कहर पछिको एसइईको कुरा गर्नु पर्दा त संस्थागत विद्यालयमा अभिभावकको धेरै पैसा लगानी भएको छ, कम दिनु भएन, प्रचार गर्ने उपयुुक्त समय हुने जस्ता विभिन्न तत्वले प्रभाव पारेको र सामुदायिक विद्यालयमा पनि संस्थागतभन्दा जिन कम हुने ? कम दिएर गुणस्तर कम छ भनेर नेतागण लगायत उच्च पदस्थको दबाब किन थेग्नु छर बेकारमा ?
एसएलसी गरेपछि तुरुन्त शिक्षण पेसामा लागियो । आज करिब करिब २२ वर्ष जति भयो विभिन्न तहमा पढाउन लागेको । आजको एसइई अझ कोरोना कहरपछिको एसइई ! उफ ! मेरो देश ! हाम्रा कर्णधार ! भविष्य कसो हुने हो ? हो पढ्न पाउने अधिकार सबैलाई हुनुपर्छ तर पास हुने अधिकार त पढ्ने र मिहिनेत गर्नेलाई मात्र हुने होइन र ? त्यो एसएलसीमा देखिने रौनक किन यो एसइईमा देखिएन त ? हो कक्षा १० को महत्त्व पहिलेभन्दा कम होला नै । किनकि आठ पास गरेपछि शिक्षकका लागि खोसाखोस हुने समय अहिले पक्कै छैन । अलिक कारण चार्मिक कम हुनु पनि होला तर सबै कारक यही मात्र हो त ? ग्रेडिङ सिस्टम, प्राक्टिकल नम्बरको मिसयुज एवम् वातावरण पनि यो एसइईको महत्त्व कम हुनुको कारण हुन् । झन कोरोना कहर पछिको एसइईको कुरा गर्नु पर्दा त संस्थागत विद्यालयमा अभिभावकको धेरै पैसा लगानी भएको छ, कम दिनु भएन, प्रचार गर्ने उपयुुक्त समय हुने जस्ता विभिन्न तत्वले प्रभाव पारेको र सामुदायिक विद्यालयमा पनि संस्थागतभन्दा जिन कम हुने ? कम दिएर गुणस्तर कम छ भनेर नेतागण लगायत उच्च पदस्थको दबाब किन थेग्नु छर बेकारमा ?
जस्ता थुप्रै कारणले एसइईको जिपिए बच्चाको वास्तविक क्षमताभन्दा बढी भएर बच्चालाई बोकि नसक्नु भएको छ । क्षमतावान विद्यार्थीलाई निराश बनाउन यो अवस्थाले महत्त्वपूर्ण नकारात्मक भूमिका निर्वाह गरेको छ भने नपढे पनि जिपिए राम्रै आउने वातावरणले पनि बच्चाको क्षमताभन्दा बढी भै भारी बोक्न नसकेर मनोवैज्ञानिक असर देखिने खतरा छ । एसइईको रिजल्ट आयो, विगतमा जस्तै बधाई त परको कुरा भयो आफ्नै सन्ततिको रिजल्ट फेसबुकमा राख्न पनि मन लागेन धेरै अभिभावकलाई । मेरो स्कुलले यति प्रतिशत लियो भनेर प्रचार गर्ने विद्यालय पनि आफैले दिएको नम्बर आफैलाई पोस्ट गर्न अफ्ठेरो माने र, त पोस्ट गरिएन । मूल कुरा शिक्षामा यस्तै निराशा र वैराग्य छायो भने के होला ? सोच्ने कसले ? शिक्षा क्षेत्र तहसनहस हुँदै गएको सोच्ने कसले ? मन्त्री हुनका लागि शिक्षा मन्त्रालय नै कम रोजिने नेतागणबाट के आशा गर्ने ? त्यो एस.एल.सी. र यो एस.ई.ई. को महत्त्व घट्नुमा शिक्षाको गुणस्तर खस्कदै जानु, राज्यको शिक्षा नीति नै गलत हुनु मुख्य कारक हुन् । धनी र नेतागणका छोराछोरी पढ्न विदेश गए भैहाल्यो, शिक्षा दिने एउटा अधिकृत सरहको शिक्षकको कुनै ओहोदा नै छैन । वार्ड सदस्य भन्दा ओहोदामा अपमान गरेर ओहदाहीन बनाएर शिक्षकको मनोवल घटाइदै छ । डिग्री हासिल गरेर सचिव स्तरको सिडियो भन्दा मेयरको ओहोदा माथि राखेर शिक्षालाई अवमूल्यन गरिएको छ । नेताको झोले भएर ढुङ्गा हान्न, काम नगरी कुराले सोझा जनतालाई ठगेर नेता बन्न सिकाउने तर स्कुल कलेज गएर पढ्न होइन राजनीति गर्न गराउन सिकाउने नेपालको राजनीतिक वातावरणले शिक्षाको अवस्था कहाँ पुग्ला सोचनीय विषय होइन र ? नेपालमा राजनीति हावी भएको छ । नेता हुनका लागि कुनै औपचारिक शिक्षा लिनै पर्दैन । यी यी यस्तै यस्तै कारणले नेपालको शिक्षा तहसनहस हुँदै छ । राजनीतिक नेतृत्वको अशैक्षिक योग्यताले यदि देशको शैक्षिक अवस्था यस्तै रह्यो भने लाखौ बच्चा उच्च शिक्षाको लागि अरबौ नेपाली पैसा बाहिर गएको तीतो यथार्थ अब प्रारम्भिक शिक्षाको लागि पनि विदेश धाउनु पर्ने वाध्यता नआउला भन्न सकिँदैन । शिक्षक, प्राध्यापक समेय पार्टीको झोला बोकेर हिड्ने, तीन दशक लगाएर पढेर बेरोजगार रहनु पर्ने र रोजगार पाए पनि गासबासका लागि जीवनभर नसक्ने शिक्षक भन्दा सानो नेता भए एक दशक, ठूलो नेता भए पाँच वर्ष, मन्त्री भए एक अवधिमै अकुत सम्पत्ति आर्जन गर्न सहज हुने भएपछि अहिलेको पुजिपति युगमा युवाहरू पढ्न, शिक्षादिक्षा हासिल गर्न लाग्नुको साटो जसरी हुन्छ नेताको झोले भएर नेता नबनेर के गरून् ?
ऊ…. त्यो एस.एल.सी. भन्दा यो एस.ई.ई. को मूल्य कमी हुनुको मुख्य कारक कोरोना नभएर देशको शैक्षिक र राजनीतिक पर्यावरण हो भन्नुमा कुनै सन्देह छैन ।
लेखक शिक्षण पेशामा आवद्ध छन ।
२५ श्रावण २०७८, सोमबार १९:१३ प्रकाशित