पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । अध्यक्ष प्रचण्डले मनाङका डिस्याङ, चामे, नासो लगायतका गाउँपालिकामा बाढी पहिरोले पुर्याएको क्षति अवलोकन गरेका छन् ।
अध्यक्ष प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका नेता देव गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुख, डिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले लगायतका स्थानीय जनप्रतिनिधि र सर्वसाधारणहरुलाई पनि बाढी पहिरोस्थलको अवलोकन गरेका छन् ।
अवलोकनपछि विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाको समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै बाढीका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ । असार १ गतेको बाढीपहिरोले मनाङमा निकै ठुलो भौतिक क्षति पुर्याएको थियो ।
२३ श्रावण २०७८, शनिबार १८:२१ प्रकाशित