१२ बैशाख २०८१, बुधबार
रुस विश्वकप : समूह चरणमा बनेका रोचक तथ्यहरु
  • काँचुली खबर

रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति समूह ‘एच’ का दुई खेल सकिएसंगै विश्वकपको अन्तिम १६ मा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ । रुस विश्वकपको समूह चरणको खेल सकिदा केहि रोचक तथ्यहरु बनेको छ । जुन यसअघिका विश्वकपमा बनेको थिएन ।

यो विश्वकपबाट पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली लागु भयो । यस्तै सर्वा्धिक पाका खेलाडी मैदान उत्रिए भए सर्वा्धिक पाका खेलाडीले ह्याट्रिक गरे ।

रुस विश्वकपमा बनेको रेकर्ड :

विश्वकपमा ह्याट्रिक गर्ने सर्वाधिक पाका खेलाडी : रोनाल्डो

रुसमा जारी फिफा विश्वकपको समूह चरणमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले ह्याट्रिक गरेसँगै विश्वकपमा एक किर्तिमान बन्यो । विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको । समूह चरणको पहिलो खेल स्पेनविरुद्ध गोल गर्दा रोनाल्डो ३३ बर्ष १३१ दिनका थिए । रोनाल्डोले नेदरल्याण्डका रोब रेनसेनब्रिंकले ३० बर्ष ३३६ दिनको किर्तिमानलाई भङ्ग गरेका हुन् ।

धेरै पेनाल्टी प्रदान :

यो विश्वकपको समूह चरणमा धेरै पेनाल्टीहरु प्रदान गरिएको छ । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली लागु भएपछि यो विश्वकपमा बढी पेनाल्टी भएको थियो । समूह चरणको खेल सकिदा रेफ्रीले कुल २४ पेनाल्टी दिएका थिए । यो ब्राजिल विश्वकपमा भएको कुल पेनाल्टी भन्दा २ बढी पेनाल्टी हो । यो पटक ७ पेनाल्टी भिएआरको माध्यमबाट प्रदान गरिएको थियो ।

सर्वाधिक पाका प्रशिक्षण :

उरुग्वेका प्रशिक्षक ओस्कार ताबरेज रुस विश्वकपकै सबैभन्दा बढी उमेरका प्रशिक्षक हुन् । रुस विश्वकप जारी रहदा उनी ७१ बर्षका भएका छन् । प्रशिक्षक ताबरेज चार विश्वकपमा एकै राष्ट्रको प्रशिक्षक बन्ने पहिलो प्रशिक्षक पनि हुन् । उनले यसअघि सन् १९८०, १९८८ र २००२ मा उरुग्वेको टिम सम्हालेका थिए ।

सर्वाधिक पाका खेलाडी :

इजिप्टका गोलकिपर असाम अल हैदरीले विश्वकप फुटबलमा सर्वा्धिक उमेरका खेलाडीको नयाँ रेकर्ड कायम गरेका छन् । फ्रेड मोन्ड्रागोनको नाममा रहेको कीर्तिमान भंग गर्दै इजिप्टका ४५ बर्षिया गोलकिपर हैदरीले विश्वकप फुटबलको इतिहासमा नयाँ रेकर्ड कायम गरेका हुन् । हैदरीको उमेर ४५ बर्ष १६१ दिन पुगेको इजिप्ट फुटबल संघले जनाएको छ । रुसी विश्वकपमा समुह चरणको अन्तिम खेलमा इजिप्टले हैदरीलाई मौका दिएको थियो । साउदी अरबविरुद्धको खेलमा मैदान उत्रदै हैदरीले नयाँ रेकर्ड कायम गरेका हुन् ।

३२ राष्ट्रको गोल :

रुस विश्वकपमा गोल खडेरी भएन । त्यसैले विश्वकप पहिलो पटक सबै राष्ट्रले गोल गर्न सफल भए । यो विश्वकपको समूह चरण सकिदा कम्तिमा एक टोलीले २ गोल गरेका छन् । समूह चरणको ४८ खेलमा १२२ गोल भयो ।

गोलरहित बराबरीमा किर्तिमान :

रुस विश्वकपको समूह चरणमा एक मात्र खेल गोलरहित बराबरीमा सकियो । समूह सी मा रहेका फ्रान्स र डेनमार्कले समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको हो । जुन, विश्वकप इतिहासकै लामो गोलरहित बराबरी हो । यो बराबरी हुन् विश्वकप ३७ खेल पर्खानु परेको थियो । यसअघि सन् १९५४ को विश्वकपमा गोलरहित बराबरी हुन् २६ खेल पर्खनु परेको थियो ।

कम उमेरका गोल गर्ने खेलाडी :

रुसमा जारी विश्वकपमा सेनेगलका युवा खेलाडी मौस्सा वागुएले गोल गरे । र, वागुएले विश्वकपमै गोल गर्ने सर्वाधिक कम उमेरका अफ्रिकन खेलाडी बने । रुसमा जापानविरुद्ध गोल गर्दा वागुएले मात्र १९ बर्ष २३६ दिनका थिए ।

सर्वाधिक पहेलो कार्ड :

यो विश्वकप १५८ पहेलो कार्ड देखाइयो । जसमा ३ रेड कार्ड प्रदान गरिएको थियो । विश्वकपको इतिहासमा यो सर्वाधिक पहिलो कार्ड हो ।

सर्वाधिक आत्मघाती गोल :

यो विश्वकपमा ९ आत्मघाती गोल भए । यो विश्वकप इतिहासकै  धेरै आत्मघाती गोल हो ।

 

स्रोत : खेलपाटी

  • १५ असार २०७५, शुक्रबार १४:४२ प्रकाशित
  • Nabintech