अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिवद्ध भएको बताएका छन् । सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने उनले बताए ।
सोमबार आफ्नो स्वागतमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ, उभिनेछ । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध भएको कुरा म स्पष्ट गर्न चाहन्छु । नागरिक अधिकारको लागि पनि यो सरकार प्रतिवद्ध छ ।’
अर्थमन्त्री शर्माले विगतको सरकारले कतिपय कुराहरु कार्यान्वयन हुनै नसक्ने गरी घोषणा गरेको भन्दै आफूले अध्ययन गरिरहेको बताए । सकारात्मक कुराहरुलाई स्थापित गर्दै कार्यान्वयनमा लैजाने र भत्केका कुराहरुलाई सुधार गर्दै लैजाने उनले स्पष्ट पारे ।
कोरोना महामारीले सञ्चार क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा आफू जानकार रहेको भन्दै उनले यस क्षेत्रको आर्थिक संकट समाधानका लागि सरकारलाई आवश्यक सुझाव दिन उनले महासंघलाई आग्रह गरे ।
१८ श्रावण २०७८, सोमबार १९:४५ प्रकाशित