पुन: कारबाहीमा परे लुम्बिनी सरकारका ३ मन्त्री
  • काँचुली खबर

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभामा जसपाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरिएको कार्यकारिणी सदस्य मोहम्मद इस्तयाक राइले जानकारी दिए ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो, तर उनीहरुले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा पुनर्वाहालीको अन्तरिम आदेशबाट उनीहरुको प्रदेशसभा सदस्य पद कायम रहेको थियो । तत्कालै जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो ।

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै उनीहरुलाई जसपाले फेरि कारबाही गरेको हो ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । सुमन शर्मा रायमाझी मुलधारमा फर्केका कारण उनलाई कारवाही नगरिएको नेता राइले बताए ।

केन्द्रीय सदस्य राइका अनुसार मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गर्दै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

  • १२ श्रावण २०७८, मंगलवार १९:२० प्रकाशित
  • Nabintech