कानुनी छिद्रको प्रयोग गर्दै यतिबेला विभिन्न विशिष्ट व्यक्ति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरूले निजी हतियारको आयात र प्रयोगलाई तीव्रता दिइरहेका छन् । पछिल्लो समय निजी हतियार राख्नेमा उपराष्ट्रपति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरू भेटिएका छन् ।
देशभर वितरण गरिएको लाइसेन्सवाला हतियारको यकिन तथ्याङ्क गृह मन्त्रालयले तत्काल उपलब्ध गराउन सक्ने अवस्था छैन । किनभने हतियारको सबै लगत कागजी पानमा मात्र सीमित छन् । कुन कुन व्यक्तिले कुन प्रकृतिको हतियार प्रयोग गरिरहेका छन् भनेर खोज्न पर्यो भने गृह मन्त्रालयलाई महिनौँ लाग्छ । हतियार लिने व्यक्तिको ठेगाना तथा सम्पर्क नम्बर पनि जिल्ला प्रशासन कार्यालयहरूले अद्यावधिक गरेको छैन । जसका कारण पुराना भरुवा बन्दुकदेखि जर्मन स्पोर्टस फाइभ जस्ता अर्ध स्वचालित हतियारको प्रयोग र अवस्थाबारे सरकार नै अनविज्ञ छ । राजनीतिक शक्ति र पहुँच प्रयोग गरेर विभिन्न नेता, मन्त्री, व्यापारी, पूर्व प्रहरी अधिकारी आदिले निजी हतियारको प्रयोग गरिरहेका छन् ।
यस्ता छन्, हतियार राख्ने केही विशिष्ट व्यक्तिहरूको फेहरिस्त
उपराष्ट्रपति नन्दबहादुर पुन
उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि निजी हतियार रहेको तथ्य फेला पारेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा सहभागी हुनुभन्दा केही समयअगाडि मात्रै नन्दबहादुर पुनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हतियारको लाइसेन्स लिई हतियार राख्न थालेका थिए । पूर्वलडाकु कमान्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले २०६९ साल फागुन १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १३२०६ नम्बरको इजाजतपत्रमा २२ बोरको हतियार लिएका छन् ।
तत्कालीन समयमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा सभासद्मा चुनाव लडेका पुन गगन थापासँग पराजित भएका थिए । त्यसपछि नन्दबहादुर पुनलाई तत्कालीन एकीकृत नेकपा माओवादीले उपराष्ट्रपति बनाएको थियो । हालसम्म पनि पुन उपराष्ट्रपति नै छन् । उपराष्ट्रपति पुनलाई यतिबेला नेपाली सेनाले विशेष सुरक्षा दिन्छ । यद्यपि पुनले अहिले पनि लाइसेन्सवाला हतियार आफैसँग राखिरहेका छन् । जिल्ला प्रशासन कार्यालयको रेकर्डमा पुनले उक्त हतियार कसैलाई नामसारी गरेर दिएको देखिएको छैन ।
मन्त्री मातृका यादवसँग आधुनिक हतियार
तत्कालीन एकीकृत नेकपा माओवादी तथा हालका नेकपाका नेता एवम् उद्योगमन्त्री मातृकाप्रसाद यादवले पनि लाइसेन्स लिएर निजी हतियार राखेका छन् । साविकको सबैला ५ धनुषाका यादवले भर्खरै मात्र सिंगापुरबाट हतियार झिकाई त्यसको लाइसेन्स जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएका हुन् । मन्त्री यादवले २०७४ साल माघ २९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १३३६६ नम्बरको इजाजतपत्र लिई १२ बोरको बन्दुक र त्यसमा प्रयोग हुने गोली राखेका छन् । हाल उद्योगमन्त्री रहेका यादवलाई नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा दिने गरेको छ । यद्यपि उनले अझै पनि आफूसँग निजी हतियार राखिरहेका छन् ।
सांसद प्रभु साहका नाममा ३ थान हतियार
नेकपाका नेता तथा सांसद प्रभु साहसँग पनि ३ थान हतियार रहेको तथ्य फेला पारेको छ । पूर्वमन्त्रीसमेत रहेका साहले २०६८ साल साउन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १३०१९ नम्बरको इजाजतपत्रमा ३ थान हतियार राखेका छन् । सांसद साहले सिंगापुरबाट २ थान १२ बोरको बन्दुक र त्यसमा प्रयोग हुने १ सय ५० थान गोली खरिद गरी ल्याएका थिए । साथै साहसँग १ थान भरुवा बन्दुकसमेत रहेको रेकर्डमा देखिन्छ । साहले आफूलाई पटक पटक धम्की आएकाले सुरक्षासम्बन्धी खतरा महशुस भएर हतियार राखेको बताए ।
पूर्वमन्त्री ओङ्दी शेर्पासँग पनि हतियार
पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेकपाका नेता ओङ्दी शेर्पासँग पनि नयाँ हतियार रहेको तथ्य भेटिएको छ । पूर्व सामान्य प्रशासन राज्यमन्त्री शेर्पासँग १३३२७ नम्बरको इजाजतपत्रमा १२ बोरको बन्दुक र त्यसमा प्रयोग हुने १ सय थान गोली रहेको छ । खेजेनिम १ ताप्लेजुङका शेर्पाले २०७४ साल वैशाख २२ गते उक्त हतियार लिएका थिए ।
पूर्व एआईजी देवेन्द्र सुवेदीको हतियार मिडिया मालिकलाई
नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले पनि लाइसेन्स लिएर निजी हतियार किनेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सुवेदीले १३३४२ नम्बरको इजाजतपत्रमा १२ बोरको आधुनिक अर्ध स्वचालित बन्दुक र त्यसमा प्रयोग हुने १ सय थान गोली लिएका थिए । नेपाल प्रहरीको एआईजीबाट सेवा निवृत्त हुनुभन्दा केही समयअगाडि मात्रै २०७४ असोज २६ गते सुवेदीले हतियार ल्याएका थिए ।
सुवेदीले हतियार ल्याए पनि हतियारको जिम्मा भने नागरिक दैनिकका मिडिया मालिक विनोदराज ज्ञवालीलाई दिएका छन् । पूर्व एआईजी सुवेदीले हतियार ल्याएर मिडिया मालिक विनोदराज ज्ञवालीलाई बाहक बनाएर सुम्पिएका छन् । यसबारे पूर्व एआईजी सुवेदीसँग सम्पर्क गर्दा बाहक ९ज्ञवाली० लाई नै सोध्नु भन्ने जवाफ दिए ।
नागरिक दैनिकका मालिक विनोदराज ज्ञवालीसँग ४ थान हतियार
नेपाल रिपब्लिका प्रालिका प्रकाशक तथा मिडिया मालिक विनोदराज ज्ञवालीसँग पनि ४ थान हतियार रहेको तथ्य रातोपाटीले फेला पारेको छ । बाँके नगरपालिका ७, नेपालगञ्जका ज्ञवालीले १२ बोरको बन्दुक १ थान, देवेन्द्र सुवेदीको बाहक भई प्रयोग गरिरहेको १२ बोरकै अर्को एक थान, भरुवा बन्दुक १ थान र किसिम नखुलेको अर्को एक थान हतियार रहेको छ । सुवेदीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १३२७२ नम्बरको इजाजतपत्रमा हतियारको खरिद गरी प्रयोगका लागि इजाजतपत्र लिएका हुन् ।
होटल व्यवसायी प्रसिद्धबहादुर पाण्डेसँग पनि लाइसेन्सवाला हतियार
यता होटल व्यवसायी तथा हानका पूर्व अध्यक्ष प्रसिद्धबहादुर पाण्डेसँग पनि लाइसेन्सवाला हतियार रहेको पाइएको छ । साङ्ग्रिला होटलका मालिक पाण्डेसँग १३२१० नम्बरको इजाजतपत्रमा २२ बोरको अर्ध स्वचालित हतियार रहेको छ ।
कानुन विपरीत हतियारको सहज खरिदबिक्री
हातहतियार खरखजना ऐनले देशभित्रै कुनै व्यक्ति वा संस्थालाई हतियारको खरिदबिक्री गर्न बन्देज लगाएको छ । ऐनमा हतियारको नामसारी गर्न मिल्ने भनिए पनि खरिदबिक्री गर्न मिल्नेबारे केही उल्लेख गरेको छैन । २०२८ सालमा बनेको ऐनको आशय नामसारी भन्नाले पारिवारिक नामसारी वा आफन्तको मृत्यु भएमा वा अशक्त भएमा अर्को व्यक्तिलाई नामसारी गरेर दिने भन्ने हो ।
तर कानुनको यही ‘लुप होल’ प्रयोग गरेर अहिले नामसारीका नाममा धमाधम हतियारको खरिदबिक्री भइरहेको छ । काठमाडौं, ललितपुर, कास्की, झापा तथा धादिङमा हतियारको व्यापक खरिदबिक्री भइरहेको छ । कानुनले एक पटक हतियार खरिद गरिसकेपछि ५ वर्षसम्म बिक्री गर्न नमिल्ने भनेको छ । यद्यपि यो कानुनलाई अपव्याख्या गर्दै, ‘नयाँ हतियारको हकमा मात्रै लागू हुने’ भनिएको छ । तर नयाँ हतियारको हकमा लागू भनिए पनि नयाँ हतियार ल्याएर बिक्री गर्ने वा अरूकै नाममा अग्रिम पैसा लिएर हतियारको व्यापार गर्नेहरू व्यापक छन् ।
कुन हतियारको बिक्री कतिमा भइरहेको छ ?
हाल काठमाडौँमा खरिदबिक्री हुने हतियारको मूल्य २ लाखदेखि ९ लाखसम्म रहेको एक हतियार कारोबारीले बताएका छन् । हतियारको सोझै कारोबार गर्न नमिले पनि विदेशबाट उनैका नाममा ल्याइदिने वा स्वदेशभित्रै हतियारको व्यवस्थापन गरिदिने काम मुख्यतः यी ४ व्यक्तिहरूले गर्ने गरेका छन् । हतियारको मूल्य कति भन्ने विषय चाहिँ कस्तो व्यक्तिले हतियार किन्न चाहेका छन् भन्ने विषयमा भर पर्छ । राम्रा व्यक्ति वा व्यापारी छन् भने उनीहरूले केही सस्तो मूल्यमा हतियार पाउँछन् भने गुण्डा, तस्कर, मिटरब्याजी, म्यानपावर व्यवसायी आदिले भनेको जति पैसा तिर्छन् । व्यापारीहरू पनि धेरै पैसा आउने भएकाले यस्तै गुण्डा, तस्कर, मिटरब्याजी आदिलाई हतियार बेच्न लालायित हुने गरेका छन् ।
यस्तो छ, हतियारको मोलमोलाई
१२ बोरतर्फ
१२ बोरको अर्ध स्वचालित हतियार : ३ देखि ५ लाखसम्म ।
१२ बोरको पम्प्याक्सन : २ देखि ३ लाखसम्म ।
१२ बोरको सामान्य : १ देखि २ लाखसम्म ।
१२ बोरको हतियारको आवाज ठूलो हुने भएकाले यो हतियारमा रुचि कम नै हुने गरेको छ ।
२२ बोरतर्फ
२२ बोरको अर्ध स्वचालित : ६ देखि ९ लाखसम्म ।
यो हतियार अर्ध स्वचालित हुने, आवाज सानो आउने, बन्दुकको आकार पनि सानो हुने र फोल्डसमेत गर्न मिल्ने भएकाले यस्तो हतियारमा अहिले धेरैको रुचि हुने गरेको छ । मुख्यतः आपराधिक गतिविधिमा संलग्नहरू यस्तो हतियारमा रुचि राख्ने एक कारोबारीले बताए । नेपालमा ल्याइपुर्याउँदा यसको लागत करिब ३ लाख पर्ने भए पनि यस हतियारको बिक्री ९, १० लाखसम्म हुने गरेको छ । जर्मन स्पोर्टस् फाइभ यो हतियारको एक उदाहरण हो ।
२२ बोरको बोल्ट एक्सन : २ देखि ५ लाखसम्म ।
यो हतियार केही ठूलो हुने भए पनि यसको माग पनि बढिरहेको ती कारोबारीले बताए । यो बन्दुकमा एक पटकमा ६ वटा म्यागजिन राख्न मिल्छ । तर प्रत्येक पटक तानेर मात्रै हान्न मिल्छ ।
एअर गन
नेपालमा प्रयोगका लागि स्वीकृति दिइएको अर्को बन्दुक एअर गन पनि हो । यो बन्दुकमा सिसाको गोली हुन्छ र यो गोली हावाको दबाबका आधारमा जान्छ । पहिले चराचुरुङ्गी मार्न प्रयोग हुने यस्ता बन्दुक अहिले आधुनिक पनि आउने गरेको छ । पछिल्ला दिनमा यही बन्दुकको प्रयोग गरी बँदेल र मृगको शिकार तथा तस्करी भइरहेको छ ।
साभार : रातोपाटी
१४ असार २०७५, बिहीबार १६:४१ प्रकाशित