महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उप-महानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका छन ।
यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको नगर प्रमुख राणाले बताए ।
३३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताए ।
२३ असार २०७८, बुधबार १६:२४ प्रकाशित