संसद विघटनसम्बन्धी रिटको फैसला असार २८ गते हुने
  • काँचुली खबर

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा पक्ष, विपक्षको बहस र एमीकस क्युरीको राय दिने क्रम सकिएको छ । मुद्दामा अर्को पेसी असार २८ गते तोकिएको छ ।

निवेदकहरुले १२ घण्टा र विपक्षीहरुले १५ घण्टा बहस गरेपछि आइतबारबाट निवेदकका वकिलहरुले जवाफी बहस गरेका थिए । आज निवेदकका तर्फबाट तीनजना वकिलले बहस गरेपछि चारजना एमिकस क्युरीले बहस गरेका थिए । एमिकस क्युरीको बहसपछि इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।

विघटनविरुद्ध परेका रिटमाथिको बहस आज सकिएको र रिटको फैसला असार २८ गते आउने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । एमिकसका चारमध्ये तीन जनाले रिट निवेदनको पक्षमा राय दिएका छन् । वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, कोमलप्रकास घिमिरे र प्रकाशबहादुर केसीले निवेदकको पक्षमा राय दिए । उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयको आलोचना गरे । तर एमिकसकै उषा मल्ल पाठकले भने रिट खारेज हुनु पर्ने राय दिइन् ।

एमिकसका लागि ३० मिनेटका दरले समय तोकिएको थियो । शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा ३६ वकिलले पक्षमा, ३२ वकिलले विपक्षमा बहस गरे भने सभामुखका ५ वकिलले पनि विपक्षमै बहस गरे । गत असार ९ गतेबाट अन्तिम सुनुवाई सुरु भएको हो ।

सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्युरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको हो ।

  • २१ असार २०७८, सोमबार २२:३० प्रकाशित
  • Nabintech