प्रतिनिधिसभा विघटन मुद्दाः आज सभामुख पक्षका अधिवक्ताहरुको बहस
  • काँचुली खबर

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन ब्यवसायीहरुले बहस गर्दैछन ।

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् ।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदक पक्षको जवाफी बहस गर्ने तयारी छ ।

गत असार ९ गते शुरू भएको सुनुवाइका क्रममा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताहरुले बहस गरिसकेका छन् । उनीहरूले १४ घण्टा बहस गरेका थिए।

सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन) का तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । उनीहरुले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । जवाफी बहसका लागि उनीहरूलाई ३ घण्टाको समय दिइएको छ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने भएका छन । सोमबार एमिकस क्युरीले २ घण्टा राय दिएपछि यो मुद्दाको फैसला आउनेछ ।

नयाँ सरकार बन्ने विकल्प हुँदा हुँदै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् । ती रिट निवेदनहरुमध्ये ४ वटामा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिनुपर्ने माग गरिएको छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ ।

  • २० असार २०७८, आईतवार ०९:०३ प्रकाशित
  • Nabintech