जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले अपिल गरेको छ ।
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असार १६ गते जारी विज्ञप्तिमा विभेदविरूद्ध एकताबद्ध पहलकदमीको अपिल गरिएको हो ।
‘जातीय विभेद मानवता विरुद्धको कार्य हो । यसले समाजलाई विद्वेश र असहिष्णुतातर्फ रूपान्तरित गर्दछ । यस्ता गैरकानुनी कार्यको पक्षमा गरिने वकालत, संरक्षण र अभियानले समग्र मानव विकास र मानव अधिकार प्रतिकूलको वातावरण निर्माण गर्नेतर्फ सचेत रहन इन्सेक हार्दिक आह्वान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ महानगरपालिका-११ बबरमहलमा घर भाडाको विषयमा जातीय विभेद गरिएको आरोपसहितको घटना विवरण पीडित रूपा सुनारद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनाका सम्बन्धमा इन्सेकले सरोकार राख्दै यस्तो अपिल गरेको हो ।
‘न्यायको आशा गरेर गरिएका यस प्रकृतिका कानुनी प्रयासहरू फितलो हुनु र पारदर्शी प्रक्रिया सुनिश्चित हुन नसक्नुले ‘विधिको शासन र सामाजिक न्याय’ का मान्यताहरू कमजोर हुँदै गएको आशङ्का गर्न सकिन्छ । यसप्रकरणमा, नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको आरोपितसँग देखिएको प्रत्यक्ष उपस्थिति र संग्लनताले गम्भीर आशङ्कासमेत उत्पन्न भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
संविधान र कानुनले बर्जित गरेका क्रियाकलाप र त्यसका आरोपितको संरक्षणमा नेपाल सरकारका मन्त्रीको उपस्थितिले नेपालको संविधान तथा प्रचलित कानुनप्रतिको जबाफदेहिता उलङ्घन भएको इन्सेकले ठहर गरेको छ ।
इन्सेकले आफ्नो स्थापनाकालदेखि नेपालमा हुने सबैखाले विभेद, शोषण र अन्यायविरुद्ध अभियान सञ्चालन गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
१६ असार २०७८, बुधबार १७:३५ प्रकाशित