मानवीय सेवामा जुट्दै दाह्री ग्याङ, बिरामी उपचारका लागि आर्थिक सहयोग
  • काँचुली खबर

दाह्री ग्याङ प्युठान मानवीय सेवामा लागिरहेको छ । बिरामी भइ उपचारमा समस्या परेका, बाढी पहिरो पिडित, आगलागी पिडित लगायत समाजमा पर्ने समस्याहरुलाई समाधान गर्न आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ ।

ग्याङले आज मात्रै हात जलेर बिरामी परेकी झिमरुक गाउँपालिका वडा नम्बर ५ की २८ बर्षिया चमेली सामतको उपचारका लागि आर्थिक सहयोग गरेको छ । ग्याङले संकलन गरेको ७ हजार ६३० रुपैयाँ सामतको थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पुगी उनकी सासुलाई सहयोग प्रदान गरेको दाह्री ग्याङका संयोजक जीवन खनालले जानकारी दिए ।

सामतको केही दिन पहिला हात जलेको थियो । उनको हात अहिले कुहिएर किरा परेको अवस्थामा पुगेको संयोजक खनालले जानकारी दिए । उनको केहिदिन देखी जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको थियो तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजाने तैयारी गरिएको उनले बताए । अस्पतालले तीन दिन पहिलेनै रिफर गरेपनि आर्थिक अभावले गर्दा उनलाई लैजान समस्या परेको थियो । सामतको आर्थिक अवस्था एकदमै कमजोर रहेको हुँदा उपचारमा सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरुले दाह्री ग्याङलाई सम्पर्क गरी सहयोग गर्न पनि सकिने खनालले बताएका छन ।

दाह्री ग्याङको आर्थिक सहयोग

  • १४ असार २०७८, सोमबार २१:३८ प्रकाशित
  • Nabintech