८ जेष्ठ २०८१, मंगलवार
चोपलाल र डिलारामले समितिबाट निकालेको क्षण …
  • काँचुली खबर

(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । उनको जन्म बिक्रम सम्बत १९७५ साल भदौ २५ गते प्युठानको रजबारा डिहीमा भएको थियो । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य र २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार समेत रहेका थिए । उनले आफ्नो राजनीतिक जीवनमा भोगेका भोगाईहरुलाई समेटेर आफ्नो ‘राजनीति जीवन यात्रा’ लेखेका छन । जीवन यात्रालाई बिमल पोखरेलले सम्पादन तथा प्रस्तुति गरेका छन । उनको जीवन यात्रालाई हामीले क्रमशः प्रस्तुत गर्‍यौं । यो अन्तिम भाग हो । – सम्पादक )

पार्टीले २०५४ साल फागुन ५ गतेदेखि चैत्र २४ गतेसम्म किसान मार्च सञ्चालन गर्‍यो । त्यो धेरै भव्यरुपमा सम्पन्न भएको थियो । रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, अर्घाखाँची, गुल्मी, बाग्लुङ, पर्वतलगायतका जिल्लाहरुमा किसान मार्च सञ्चालन भयो । म किसान मार्चको सुरुदेखि अन्तिमसम्म हिडें । त्यसरी हिड्नेहरु करिब २ सय जति थिए । तीमध्ये म सबैभन्दा बूढो थिएँ । बूढो भएर पनि म कुनाकाप्चासम्म पुग्न सकें । मलाई धेरै ठाउँमा सम्मान गरे । बाग्लुङको गल्कोटको हटिया भन्ने ठाउँमा मलाई उपहार पनि दिइयो । मसँग विभिन्न पत्रकारहरुले अन्तर्वार्ता पनि लिएका थिए । नौलो विहानी भन्ने पत्रिकाले आफ्नो शीर्षकमा सैनिक नभएको पार्टी कम्युनिस्ट पार्टी हुँदैन भन्ने कुरा झल्काएको थियो । मैले त्यसको प्रतिकार गरें । किनभने मैले त्यो कुरा बोलेको थिइन ।

२०५८ सालको भदौबाट मलाई प्यूठानको जिल्ला पार्टी सदस्यबाट अलग गराउने ठूलो कोसिस भयो । मलाई पार्टीबाट पछाडि पार्नको लागि चोपलालले कैयौं कोसिसहरु गरे । उनले पार्टीमा मनोमानी गर्न खोज्थे । २०५८ मा रातामाटामा भएको बैठकमा केन्द्रीय नेताहरु पनि उपस्थित थिए । चोपलालले म भएपछि मनोमानी गर्न पाएका थिएनन् । मैले उनको मनोमानीको विरोध गरेपछि उनी मविरुद्ध खनिएका थिए । उनले मनोमानी गर्न र आफ्नो लागि मलाई हटाउन खोजेका थिए । उनले मलाई आरोप लगाउँदै भन्थे कि उहाँ बूढो हुनुभएकाले हामीले काममा खटाउन सकेनौं । तर मैले निरन्तर खटेर पार्टीमा काम गरिरहेको थिएँ । सामन्त, जालीफटाहा, शोषकहरुको विरुद्धमा निरन्तर लडिरहेकै थिएँ ।

उमेरले बूढो भए पनि युवा जोश कायम थियो । चोपलालले अनेक गरेपछि डिलाराम आचार्यले राती २ बजे मलाई पार्टीको जिम्मेवारी मुक्त भएको घोषणा गर्नुभयो । अनि सबै सुत्यौं । मलाई डीसीबाट निकालेकोमा धेरै पीर लाग्यो । म सुत्न सकिन, त्यसपछि विहान ४ बजे म घरतिर हिंड्न लागें । मैले पार्टीलाई महिनाको २ सय २५ रुपैया लेबी तिर्थें । मैले भनें कि यो लेबी लिनुस्, अब म हिंड्छु । मैले एमबी ९मोहनबिक्रम० सँग पनि विदा मागें । मलाई डीसीबाट निकालेको कुराले एमबीलाई पनि पिर परेको रहेछ । उहाँले भन्नुभयो कि एकछिन पर्खनुस् । त्यसपछि उहाँले चोपलाल, केबी गुरुङ, डिलाराम आचार्यसग छलफल गर्नुभयो ।

चोपलालसँग एकछिन गोप्य कुराकानीसमेत गर्नुभयो । फेरि विहान ५ बजे मलाई डिलारामले बोलाउनुभयो । राती हटाइएपछि विहान अर्को बैठक बसी मलाई पुनः जिल्ला समितिमा राख्ने निर्णय भयो । मैले पार्टीमा लगातार रुपमा काम गर्दै गएँ । अहिले त बूढो पनि भएँ पार्टीमा सक्रिय भएर काम गर्न नसक्ने भएँ । तर पनि पार्टीका सबै गतिविधिहरु थाहा पाउन मन लाग्छ । हाँक पढ्ने गर्छु । तर हाँक आउदैन । कहिलेकाहींमात्रै आउँछ ।

प्यूठानमा मैलेजत्तिकै काम गर्ने व्यक्तिहरु कमै होलान् । पार्टीका कामहरु धेरै गरियो । म सधैं सक्रिय रहें । साल याद भएन, असोजको महिनामा पार्टीको भेला भएको थियो । पार्टीलाई ऋण लागेको थियो । केबी गुरुङले तपाईंले तिरिदिनुपर्‍यो भन्नुभयो । मैले त्यो रकम २ वर्षसम्म अलिअलि गरी चोपलाललाई बुझाएको थिएँ । मैले सामन्तहरुको विरुद्ध गरेका धेरै कामबारे त पहिले उल्लेख भइसकेको छ ।

एउटा घटना उल्लेख गर्दा राम्रै हुन्छ । मेरा छिमेकी रविलाल पुरीको घरमा बाह्रै मास जुवाको खाल थियो । मंसिरको महिना थियो । ७ जना केटाहरुले बाहिर जुत्ता राखेर भित्र १६ कौडा खेलिरहेका थिए । बाहिरबाट हेर्छु, एक्लै केही गर्न सक्ने अवस्था थिएन । त्यसपछि तिनीहरुका छालाका जुत्ता उठाएर नुनथला भन्ने ठाउँमा लगेर गाडिदिएँ । तिनीहरु खेल्न छोडेनन् । जनै पूर्णिमाको दिन थियो । जोखे कुवरको घरमा छविलाल पुरी, नरबहादुर कुवर, टेकबहादुर घर्ती, रुमानसिंह कुवरहरु जुवा खेलिरहेका थिए । त्यतिबेला मैले र खिमानसिंहले स्कुलमा पढाउथ्यौं । हामीहरुले विद्यार्थीहरु लगेर त्यो घर घेरा हाल्न लगायौं । तिनीहरुले भने कि ए मास्टर, तिमीलाई हामीले पढाउन ल्याएका हौं, जुवा खेल्ने ठाउँमा आएर हामीलाई पक्रन होइन । मलाई साह्रै रिस उठ्यो । नरबहादुर, छविलाल, टेकबहादुुरलाई पिटें । रुमानसिंह भागे । छवि र नरबहादुरले मलाई बन्दुकले हानेर मार्ने प्रयास गरे । हामीले शिक्षक बलबहादुर जीसीलाई सीआइडी पठाएका थियौं । उनले त्यो कुरा थाहा पाएका थिए । मैले पिट्न थालेपछि उनले पनि भरेको बन्दुक पड्काइदिए । यसरी म बाचें । बलबहादुरलाई सीआइडी नपठाएको भए मलाई बन्दुकले हान्ने थिए । त्यसपछि तिनीहरुले बन्दुक बोकेर तुषारा कुतामा गएछन् । तुषाराका घर्ती केटाहरुले नरबहादुर र छविलाललाई पिटपाट गरेछन् र बन्दुक र पनि खोसिदिएछन् ।

(समाप्त)
सम्पादन/प्रस्तुति विमल पोखरेल

किसान आन्दोलनको विजयको दिन


  • १३ असार २०७८, आईतवार १५:५९ प्रकाशित
  • Nabintech