एसपी रानाको बाँकेमा एकबर्षे कार्यकाल: शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेख्य कार्य
  • काँचुली खबर

प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँकेमा प्रहरी प्रमुखको रुपमा एक बर्षे कार्यकाल बिताएका छन । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एकबर्षे कार्यकाल सफल रुपमा बिताएका हुन ।

एकबर्षे अबधिमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, कोभिड नियन्त्रण तथा व्यवस्थापन लगायतका उल्लेख्य कार्यहरू सफलताका साथ गरिएका छन ।

एसपी रानाले बाँके प्रहरीको कमान्ड सम्हालेपछि अपराधिक गतिविधिमा सङ्लग्न रही बर्षौदेखी फरार रहेका मोष्ट वान्टेडसहित ६ सय २ जना अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी तथा मातहत समेतका कुल ७२५ मुद्दामा विभिन्न अपराधमा सङ्लग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ति करणी, चोरी, डकैती, गुन्डागर्दी लगायत गर्ने) ११३५ जनालाई पक्राउ गरि कानून बमोजिम कारबाही गरिएको, लागू औषध निष्तेज महाअभियान संचालन, तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति, राजस्व संकलनमा वृद्धि, प्राकृतिक स्रोतको दोहन रोक्न सक्रिय भुमिका निर्वाह, चेलीबेटी बेचबिखन विरुद्धको अभियान, सडक दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध ‘सेफ्टी पिन’ अभियान तथा कोरोना नियन्त्रण लगायतमा बाँके प्रहरीले उल्लेख्य कार्य गरेको छ ।

अपराधिक गतिविधि नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर कार्यकाल सुरु गरेका एसपी रानाको बाँकेबाट प्रदेश प्रहरी कार्यालय भैरहवा सरुवा भएको हो ।

गत एक बर्षमा बाँकेमा मोष्ट वान्टेड सुचीमा रहेका अपराधी सहित अदालतबाट कैद तथा जरिवाना भइ फरार रहेका ४७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समय देखि फरार रहेका ८५ जना गरि कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपैयाँ असुल गरेको, अन्य विभिन्न जरिवाना र कारबाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजश्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुङ्गा बालुवा गिट्टी सिज गरिएको, अपहरण गरेर हत्या गर्ने तीनजना मोस्ट वान्टेडलाई पक्राउ गरेको, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजना लाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अबैध हातहतियार सहित पक्राउ गरिएको, राष्ट्रिय अनुसन्धानका सुचक प्रबिण थापाको हत्यामा सङ्लग्न ७ जनालाई पनि पक्राउ गरेर कारबाही अगाडी बढाइएको बाँके प्रहरीले जनाएको छ ।

यसैगरी गत एक बर्षको अबधिमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ईरिक्सा, २ वटा बोलेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको छ ।

एसपी राना बाँके आउनु भन्दा अघिल्लो बर्षमा ५२ जना मात्र फरार अपराधी पक्राउ परेका थिए भने २ करोड १२ लाख मात्र विभिन्न जरिवाना र कारबाहीबाट राजस्व संकलन भएको थियो ।

भारतीय सिमानासङ्ग जोडिएको बाँकेमा लागू औषधको सेवन र कारोबार बढ्दै गएको र बन्यजन्तु तस्करी पनि वृद्धि भएको अबस्था रहेकोले सो बारेमा विशेष अभियान संचालन गरेर ५६८ ग्राम भन्दा बढी ब्राउन सुगर, ३४ किलि भन्दा बढी अफिम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी कोरेक्स सहित १८२ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांकमा छ ।

यस्तै कोरोना व्यवस्थापनमा एक बर्षको अबधिमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरिएको, २ वटा होल्डिङ्ग सेन्टरको व्यवस्थापन गरिएको, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाइएको, जिल्लाका ८१ वडामा ‘मास्क खोइ’ अभियान संचालन गरेर १० हजार बढी मास्क बितरण गरिएको थियो ।

गुण्डागर्दी गर्ने १६ जनालाई कारबाही, रातको समयमा हो-हल्ल्ला गरि हिड्ने ४४५ जनालाई कारबाही गरि शान्ती चयन गरिएको, चोरी भएका ८ वटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलास गरि सम्बन्धित व्यक्तिलाई वुझाइएको छ ।

४३ जनाको भारतबाट उद्दार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै बालबिबाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन, जुवा तास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउने जस्ता महत्वपूर्ण कार्यहरू गरिएको प्रहरीले जनाएको छ ।

गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हालेका एसपी रानाले पत्रकार भेटघाट मार्फत मुख्य १७ बुँदे कार्ययोजना बनाई प्रस्तुत गरेका थिए । उनको कमाण्ड रहेको बाँके प्रहरीले एक वर्ष भित्र अधिकांस कार्ययोजनाहरु कार्यन्वयन गर्न सफल भएको छ ।

  • १३ असार २०७८, आईतवार १२:४२ प्रकाशित
  • Nabintech