जाजरकोटको भेरी नगरपालिका वडा न. २ का जनप्रतिनिधि शर्मिला वि.क. (महर) को शंकास्पद मृत्यु भएको छ । दलित महिला सदस्य ६२ वर्षिया विक मंगलबार दिउँसो घाईते अवस्थामा फेला परेकी थिईन ।
बैठककालागि बाहुनथानामा रहेको वडा कार्यालयमा जाँदै गर्दा बाटोमा घाईते अवस्थामा फेला परेकी विकलाई उद्धार गरी उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
डिङ्गादेखी बाहुनथाना जाने बाटोमा रहेको जंगलमा विकलाई स्थानियले घाईते अवस्थामा भेटाएका थिए । घटना शंकास्पद भएको भन्दै स्थानियले अनुसन्धानको माग गरेका छन ।
विकले सधैं प्रयोग गरेको बाटोमा लडेर चोट लागेको भनिएतापनि दुबै हात खुट्टा र टाउकोमा गम्भीर चोट देखिएकाले घटना शंकास्पद भएको उनको परिवारको भनाई छ । मृतक र घटनास्थलको अवस्था हेर्दा शंकास्पद देखीएकाले निस्पक्ष छानबिन हुनपर्ने मृतक विकका छोरा लाल बहादुर महरले माग गरेका छन ।
गत स्थानिय निर्वाचनमा विक नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएकी थिईन ।
८ असार २०७८, मंगलवार २३:५७ प्रकाशित