पौराणिक कथाका ‘५ खलनायक’ जसले इतिहासमा ‘ट्वीस्ट’ ल्याए
  • काँचुली खबर

भिलेन अर्थात खलनायक । फिल्ममा मात्र होइन, समाजमा पनि हुन्छन् । वर्तमान समाजमा मात्र होइन, सदियौं पुरानो समाजमा पनि थिए । पौराणिक कथाहरुमा यस्ता पात्र नहुने कुरै भएन । हिन्दू धर्मका पौराणिक कथाहरू असंख्य छन् । ती कथाहरू नायक तथा खलनायकका द्वन्द्वले भरिएका छन् । तीमध्ये केही त्यस्ता खलनायक छन् जसका कारण पृथ्वी नै त्राहिमाम बनेकी थिइन् । तीमध्ये ५ जनाका विषयमा यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

हिरण्याक्ष

कश्यप तथा दितिपुत्र हिरण्याक्ष त्रिलोकमा रा जगर्न चाहन्थ्यो । उसको राज्य दक्षिण भारतमा पर्दथ्यो । ब्रह्माबाट युद्धमा कसैले जित्न नसक्ने तथा झन्डै झन्डै अमरताको वरदान पाएका कारण ऊ कसैलाई गन्दैनथ्यो, उसले वराहरूपी विष्णुलाई युद्धको चुनौती दिएको थियो । उसले पृथ्वीलाई पाताल पुर्‍याएको थियो । जसलाई वराहरूपी विष्णुले पहिलेकै अवस्थामा ल्याएका थिए ।

वराह तथा हिरण्याक्षका बीच भयंकर युद्ध भयो । अन्ततः हिरण्याक्ष मारियो । वर्तमानमा पनि दक्षिण भारतमा हिंगोली, हिंगनघाट, हिंगना नदी तथा हिरण्याक्षगण हेंगडे आदि नाम भएका ठाउँ छन् । यहाँनेर उल्लेखनीय कुरा के छ भने हिरण्याक्षलाई मार्ने आदि वराह हुन् यसबाहेक विष्णुका नील वराह र श्वेत वराह अवतार पनि छन् ।

हिरण्याक्षको सहोदर भाइ हिरण्यकशिपु पनि दाजुजत्तिकै पराक्रमी थियो । उसले पनि संसारमा आतंक फैलाएको थियो भने आफ्ना दाजुको हत्यारा विष्णुसँग बदला लिनु उसको अभीष्ट थियो । ऊ पनि पछि विष्णुकै अवतार नृसिंहका हातबाट मारियो ।

बलि

दैत्यराज बलि अजर अमर हुन् । मान्यताअनुसार उनी आजसम्म पनि जीवित छन् । बलि हिरण्यकशिपुका छोरा प्रह्लादका नाति हुन् । बलिको बाबुको नाम विरोचन हो । मान्यताअनुसार बलि पहिले भारतको महाबलिपुरम्मा राज्य गर्थे भने पछि अरबमा बस्न थाले जसलाई प्राचीन कालमा पाताल लोक भनिन्थ्यो । समुद्र मन्थनबाट बलिलाई घोडा प्राप्त भएको थियो भने इन्द्रलाई हात्ती । आज पनि अरबमा घोडा बढी पाइन्छ भने भारतमा हात्ती ।

बलिले दैत्यगुरु शुक्राचार्यको सहयोगमा स्वर्ग, मत्र्य तथा पाताल तिनै लोकमा विजय प्राप्त गरेका थिए । पुराणमा बलिलाई देवताविरोधी मात्र नभई दानवीरका रूपमा प्रशंसा गरिएको पाइन्छ । बलि अपार शक्तिका स्वामी हुनाका साथै धर्मात्मा समेत थिए ।

देवताका साथ लागेर विष्णुले बलिमाथि वामन भएर छल त गरे तर बलिका हजुरबुबा तथा आफ्ना परम भक्त प्रह्लादको अनुरोध एवं स्वयं बलिकै धार्मिताबाट प्रभावित भएर अजर अमर हुने वरदानका साथै पाताल लोकको अधिपति बनाए । बलिबाट एक नयाँ इतिहास सुरु भएको पाइन्छ ।

वृत्रासुर

वृत्रासुरको विषयमा पनि धेरैथरी कथा पाइन्छ । तीमध्ये एक कथाअनुसार सत्ययुगको कुरा हो, कालकेय नामको एक असुरले पृथ्वीमा राज्य गर्दथ्यो, सर्वत्र उसको आतंक थियो, त्यो कालकेय स्वयंचाहिँ वृत्रासुरको अधीनमा थियो । यी दुईको अत्याचारबाट त्रस्त देवताले वृत्रासुरलाई मार्ने योजना बनाए । यसका लागि दधिची ऋषिको हाड मागेर त्यसको वज्र बनाइयो र इन्द्रद्वारा वृत्रको वध गरियो ।

शोधकर्ताहरूका अनुसार वृत्रासुरको मूल नाम वृत्र थियो जो सम्भवतः असिरियाको राजा थियो । फारसीहरूको धर्मग्रन्थ अवेस्तामा पनि उसको उल्लेख पाइन्छ । वृत्रले आर्यहरूमाथि आक्रमण गरेको थियो भने उनीहरूलाई पराजित गर्नका लागि अद्विशूर नामक देवीको उपासना गरेको थियो । इन्द्र र वृत्रासुरको युद्धले तत्कालीन अवस्थाका सभ्यता एवं संस्कृतिमा गहिरो असर परेको थियो ।

रावण

रावण एक कुशल राजनीतिज्ञ, सेनापति एवं वास्तुकलाका मर्मज्ञ हुनुका साथै ब्रह्मज्ञानी तथा बहुविद्याका जानकार थिए । उनी मायावी थिए अर्थात् उनलाई इन्द्रजाल, तन्त्र, टुनामुना, सम्मोहन तथा अन्य विभिन्न किसिमका जादूका जानकार थिए । उनीसँग पुष्पक विमान थियो जो मनको इच्छाअनुसार चल्दथ्यो । कथाअनुसार विष्णुका पार्षद जयविजयले नै रावण र कुम्भकर्णका रूपमा जन्म लिएका थिए । कुम्भकर्ण रावणको महाशक्तिशाली भाइ थियो ।

रावणले रक्ष संस्कृतिको स्थापना गरेका थिए । रावणले आप्mना सौतेला भाइ कुबेरबाट लंका को राज्य तथा पुष्पक विमान खोसेका थिए । रावणले रामपत्नी सीताको हरण गरेर मृत्युलाई निमन्त्रण दिएका थिए । रावण विद्वान् भएर पनि क्रूर, अभिमानी, दम्भी एवं अत्याचारी थिए । हुन त उक्त समयमा अन्य थुप्रै खलनायक थिए तापनि तीमध्ये रावण नै सर्वशक्तिशाली एवं प्रमुख खलनायकका रूपमा चिनिन्छन् ।

जरासन्ध

जरासन्ध भगवान् कृष्णका मामा कंसका ससुरा थिए । कृष्णका मामा कंस क्रूर थिए । पूर्वजन्ममा कालनेमि नामका असुर नै कंसका रूपमा जन्मेका थिए । महाबलशाली कंसले भारतवर्षका सम्पूर्ण वीरहरूलाई परास्त गरेका थिए । यस्तै महाबली कंसका ससुरा जरासन्ध मगधका सम्राट थिए । हुन त त्यतिबेला अन्य थुप्रै खलनायक भए पनि कृष्णको हातबाट कंसको मृत्युपछि जरासन्धलाई नै प्रमुख खलनायक मान्न सकिन्छ ।

कृष्णलाई सबैभन्दा बढी सताउने कोही थिए भने ती व्यक्ति जरासन्ध नै थिए । जसले मथुरामाथि सत्रपटक आक्रमण गरेका थिए भने अठारौं पटकको आक्रमणमा आप्mना मित्र कालयवनको साथ लिएर कृष्णलाई मथुरा छोडी द्वारकामा राज्य बसाउन बाध्य तुल्याएका थिए ।

जरासन्ध बृहद्रथ नामका राजाका छोरा थिए । जरासन्ध जन्म समयमा दुई टुक्रामा विभक्त थिए । जरा नाम गरेकी राक्षसीले जोडेर एउटै बनाइ जीवित तुल्याएको हुँदा नै उनको नाम जरासन्ध रहन गएको थियो । जरासन्ध कौरवहरूका मित्र थिए, युधिष्ठिरको राजसूय यज्ञका क्रममा युद्ध हुँदा उनी भीमसेनका हातबाट मारिए । जरासन्ध अत्यन्त क्रूर एवं साम्राज्यवादी प्रवृत्तिका शासक थिए ।

तत्कालीन समयका प्रभावशाली वीर राजाहरू कामरूप नरेश दन्तवक्र, चेदिराज शिशुपाल, कलिंगराज पौंड्रक, भीष्मकपुत्र रुक्म, शाल्वराज, मद्रनरेश शल्य, पवनदेशका राजा भगदत्त, सौवीरराज, गान्धारराज सुबल, मीरराज गोदर्भका साथै अंग, बंग, कोसल, दशार्ण, भद्र, त्रिगर्त, दरद आदि देशका राजाहरू जरासन्धका मित्र थिए ।

 

स्रोत : अनलाईनखबर

  • १३ असार २०७५, बुधबार २३:५९ प्रकाशित
  • Nabintech