अमेरीकाले प्रतिवन्ध लगाएका इब्राहिम इरानको राष्ट्रपतिमा निर्वाचित
  • काँचुली खबर

इरानको राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएका छन् । शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा रइसी निर्वाचित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

रइसीलाई अन्य उम्मेदवारले राष्ट्रपतिमा निर्वाचन भएकोमा बधाइ एवं शुभकामना दिएका छन् । त्यस्तै बहालवाला राष्ट्रपति हसन रोहानीले समेत उनलाई बधाइ एवं शुभकामना दिएको समाचारमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । तर उनी अत्यधिक मत अन्तरले विजयी भएको समाचारमा जनाइएको छ ।

को हुन रइसी ?

इरानको मशहदमा सन् १९६० मा रइसीको जन्म भएको हो । २०१९ देखि प्रधानन्यायाधीश समेत रहेका उनी कट्टरपन्थी एवं पुरातनवादी नेता हुन् । इरानका राजनीतिक बन्दीलाई मृत्युदण्डको सजाय दिइएका विभिन्न घटनामा उनको नाम जोडिएको छ । राजनीतिक बन्दी एवं इस्लामिक सत्ताका विरोधीप्रति अनुदार बनेको आरोप उनीमाथि लाग्दै आएको छ ।

सन् १९८८ मा इरानमा श्रृङ्खलाबद्ध रुपमा राजनीतिक बन्दीलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डसम्बन्धी मुद्दामा संलग्न ४ जना अभियोजनकर्तामध्ये उनी पनि थिए । उक्त वर्ष जुलाईदेखि नोभेम्बर महिनासम्म ४ हजार मानिसलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड पाउनेमा इस्लामिक लडाकु समूह तथा बामपन्थी दलका सदस्य र नेता थिए ।

यसअघि सन् २०१७ मा भएको राष्ट्रपतीय निर्वाचनमा समेत रइसी चुनावी मैदानमा उत्रिएका थिए । तर हसन रोहानीसँग उनी पराजित हुन पुगे । उनलाई सर्वोच्च नेताको उत्तराधिकारीको रुपमा समेत हेर्ने गरिन्छ ।

रइसीले कट्टर इस्लामवादी धारणा राख्छन् । उनी महिला र पुरुषका लागि छुट्टाछुट्टै कार्यस्थलको व्यवस्था गर्नुपर्ने यौनिक पृथकताका पक्षपाती हुन् । साथै, विश्वविद्यालयको इस्लामीकरण, इन्टरनेटको पुनरावलोकन तथा पश्चिमी संस्कृतिमाथि सेन्सरशिपको समर्थन गर्दै आएका छन् ।

अमेरिकाले प्रतिबन्ध लगाएका प्रभावशाली व्यक्तिमध्ये रइसी पनि एक हुन् । ट्रम्प प्रशासनले सन् २०१९ मा मानव अधिकार उल्लंघन गरेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाएको थियो । युरोपेली युनियनले समेत उनीमाथि प्रतिबन्ध लगाएको छ ।

रइसीले आर्थिक प्रतिबन्धलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्ने धारणा राख्छन् । ‘मुलुकभित्रको गरिबी र अभाव अन्त्य गर्ने एउटा मात्रै माध्यम भनेको प्रतिरोधी अर्थतन्त्रलाई क्रिशाशील बनाउनु हो’, उनले केही समयअघि भनेका थिए । कमर्शियन रिटेल क्षेत्रले विदेशी ब्रान्डलाई फाइदा हुने भएकाले यसको साटो कृषिलाई प्राथमिकता राख्नुपर्ने पक्षमा उनी देखिन्छन् ।

त्यस्तै, इरानको विदेश नीतिले इजरायलबाहेक सबै मुलुकसँग सम्बन्ध राख्नुपर्ने कुरालाई निरन्तरण जोड दिनुपर्ने रइसीको धारणा छ ।

रइसीका एक श्रीमति र दुई छोरी छन् । उनकी श्रीमति जामिले अलामोलहोदा तेहरानस्थित शहिद बेहेष्टी विश्वविद्यालयकी उप-प्राध्यापक हुन् ।

  • ५ असार २०७८, शनिबार २०:०० प्रकाशित
  • Nabintech