‘बाँकेका पत्रकारलाई २ लाखको दुर्घटना वीमा’
  • काँचुली खबर

नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उदेश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारकालागि समेत रु. २ लाखको दुर्घटना बिमा गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले बताए । भण्डारीका अनुसार दुर्घटनामा घाईते भएका पत्रकारहरुले २० हजारसम्मको उपचार खर्च पाउने छन भने दिर्घकालीन रुपमा अपाङ्ग भएका तथा ज्यान गुमाएका पत्रकारको हकमा भने बिमाले २ लाख रुपैयाँ रुपैया उपलब्ध गराउने छ ।

महासंघको पहलमा पहिलो पटक गरीएको उक्त निर्णय चाँडै कार्यान्वयन गर्ने गरी प्रक्रिया थालिएको र यसबाट मोफसलमा रही सन्चारक्षेत्रमा क्रियाशिल रहेका बाँकेका पत्रकारलाई आइपर्ने सम्भावित जोखिम टार्न सघाउ पुग्ने अपेक्षा गरिएको भण्डारीले बताए ।

सचिव कमल डाँगीद्धारा जारी बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बाँकेको पहलमा हालसम्म जिल्लामा कार्यरत पत्रकारलाई कोरोना बिरुद्धको खोप लगाउन समन्वय गर्ने सरोकारवाला निकायलाई आभार प्रकट गरिएको छ । कोरोना बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रही काम गरेका धेरै पत्रकार अझै पनि खोप लगाउन बन्चित भएकाले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्न समेत महासंघले सम्बन्धित पक्षसँग जोडदार माग गर्ने निर्णय गरेको छ ।

साथै लगातारको वर्षाका कारण बाढी, पहिरोको जोखिम बढिरहेकाले बाढीको उच्च जोखिममा रहेको बाँकेमा पूर्वतयारी गरी जनधनको रक्षा गर्न समेत महासंघले सरोकारवाला निकायसँग अपील गरेको छ ।

  • २ असार २०७८, बुधबार १९:४७ प्रकाशित
  • Nabintech