आजदेखि नयाँ शैक्षिक सत्र सुरु
  • काँचुली खबर

आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । जसअनुसार देशभरको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजबाट सुरु भएको हो । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज अर्थात असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो ।

कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने छ ।

नयाँ शैक्षिक सत्रको तालिका असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ । भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ ।

कोरोना संक्रमण सामान्य अवस्थामा नआएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने कार्य जारी रहने जनाइएको छ ।

आजदेखि कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो । कक्षा ११ को पठनपाठन भने भदौ १ बाट सुरु हुनेछ ।

विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्यांकन कार्य पूरा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।

  • १ असार २०७८, मंगलवार ०७:३६ प्रकाशित
  • Nabintech