(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य र २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार समेत रहेका थिए । उनले आफ्नो राजनीतिक जीवनमा भोगेका भोगाईहरुलाई समेटेर आफ्नो ‘राजनीति जीवन यात्रा’ लेखेका छन । जीवन यात्रालाई बिमल पोखरेलले सम्पादन तथा प्रस्तुति गरेका छन । उनको जीवन यात्रालाई हामीले क्रमशः प्रस्तुत गर्ने कोशिस गरेका छौं । – सम्पादक )
म कपिलवस्तुबाट रिहा भएपछि पनि हाम्रो कार्यक्रम विथोल्नको लागि ठूलो कसरत भयो । कार्यक्रम विथोल्ने दलालहरुले भने कि यसपटक तपाईहरुले यो कार्यक्रम रोकिदिनुस् । हामीले सरकारमा जाहेर गरिदिन्छौं । हामीले कुनै हालतमा पनि मानेका थिएनौं । तर उनीहरुले विभिन्न षड्यन्त्र गरेर कार्यक्रम रोक्ने काम गरे । भूतपूर्व सैनिकहरुबाट उठेको पैसा देवेन्द्रले हिनामिनासमेत गरेका थिए । अहिले केही जग्गा कलोनीमा छ । बेलौतेमा त भूपू निवास र घरेलु भवन पनि छ ।
पहिले कार्यक्रम स्थगित भएपछि हामीले भूपू संघका सेयर सदस्यहरुको कार्यक्रम गर्नको लागि ३ पटकसम्म प्रयास ग¥यौं । तिनैपटक कोरम पुगेन । अन्तिममा त झन् समितिका मान्छेहरु पनि आएनन् । २०४६ सालको कुरा हो । हामी सैनिक संघको बैठक बसिरहेका थियौं, स्कुलका विद्यार्थीहरुले पञ्चायती सरकार मुर्दावाद भन्ने नारा लगाउँदै आए । यसरी त्यहाँ विद्यार्थी आन्दोलन सुरु भयो ।
त्यसपछि चैत्र २३ गते म प्यूठानको दर्भान आएँ । मसुरे भन्ने ठाउँमा आएर बसेको थिएँ । त्यस ठाउँमा प्रहरीको चौकी थियो । जुनेली रात थियो । नेकपा (मसाल)द्वारा पर्चा छर्ने कार्यक्रम रहेछ । खोलैखोल पर्चा छर्दै गर्दा त्यहाँका प्रहरीहरुले देखे । त्यसपछि पर्चा छर्ने साथीहरुले एउटा टिनको बाकस म बसेको होटलमा लिएर राखे । त्यसमा पर्चाहरु रहेछ । भोलिपल्ट हेर्दा त पर्चाहरुमा चैत्र २६ गते राजालाई नारायणहिटीबाट निकालेर फाल्नुपर्छ भन्ने थियो । मलाई पार्टीले खासै जिम्मेवारी दिएको थिएन । पर्चा छरेको देखेपछि म मनमनै खुशी भएँ । मैले त्यस कार्यलाई स्वागत गरें । त्यत्तिकैमा चैत्र २६ गते राजा, कांग्रेस र वाममोर्चाबीच सम्झौता भयो । राजा वीरेन्द्रबाट बहुदलको घोषणा भयो । अन्तरिम सरकारको गठन भयो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए ।
२०४८ सालमा संसदीय चुनाव हुने भयो । हाम्रो पार्टीले संविधानसभाको चुनावको माग गर्दै संसदीय चुनाव बहिस्कार ग¥यो । म नारीकोटमा थिएँ । नारीकोटको स्थिति कस्तो थियो भने अरु कुनै पनि पार्टी गाउँमा पस्न सक्दैनथे । त्यसैताका प्यूठानमा एउटा ठूलो घटना घट्यो । पूजा गाउको एकजना समसेरबहादुर भन्ने पञ्चले ठूलाबेशीको विद्यालयको धेरै पैसा हिनामिना गरेको थियो । त्यसले गाउँलेबाट स्कुल बनाउनको लागि उठाएको पैसा हिनामिना गरेको हो । त्यस स्कुलका शिक्षक र विद्यार्थीहरुले त्यो पैसा बुझाउन आऊ भन्दा त्यसै स्कुलमा कार्यरत शिक्षक डबलसिंहलाई खुकुरीले हानेर भागेछ । त्यसरी भाग्ने क्रममा ऊ भीरमा हाम फाल्यो र म¥यो । त्यसबेला म त्यहाँ थिइन ।
तर, खगुलाल गुरुङले ३ सय मसाल लगी पूजाका समसेरबहादुरलाई मा¥यो भनेर प्यूठानका कांग्रेसहरुले आरोप लगाए । त्यतिबेलाको बीबीसी रेडियोले समेत त्यही कुरा प्रचार ग¥यो । मलाई कांग्रेसी सरकारले प्रहरी प्रशासन लगाएर पक्र्यो, जेलमा थुन्यो । सयौं जना मसाल समर्थक जनतालाई गिरफ्तार गरियो, झुठ्ठा मुद्दा लगाएर जेल हालियो । २०४८ सालको संसदीय चुनाव गराउदाँ म जेलमै थिएँ । त्यो चुनावमा नारीकोटमा जम्मा १ सय ६१ भोट खसेको थियो । २०४९ सालको स्थानीय चुनावमा भने पार्टीले भाग लियो ।
इलाका नम्बर ८ मा पार्टीले मलाई उम्मेदवार उठायो । मैले राम्रै भोट पाएँ र जितें । मेरो विपक्षमा कांग्रेसबाट उठेका बादीकोटका सुन्दरबहादुर थापाको धरौटीसमेत जफत भएको थियो । त्यतिबेला जिल्ला विकास समितिबाट मोटरबाटोको लागि ३ लाख छुट्टयाइएको थियो । त्यो पैसाले मच्छीको दमदमेबाट ढाँडासम्मको मोटरबाटो खन्ने काम भयो । पञ्चायतकालमै रामफेदी रातामाटामा झिमरुक खोलामा पुल बनाउने मेरो योजना थियो । तर ३५ सालमा मलाई पञ्चायतको चुनावमा हराएको कारणले त्यो निर्माण गर्न सम्भव भएन । पञ्चहरुले त्यो पुल खगुलालले पारेको हो, त्यसको योजना विफल पारिदियौं भन्दै हिंडे । तर मलाई तिनीहरुले के भन्छन् त्यसको कुनै मतलब थिएन । किनभने मैले सधैभरी जनताको काम गर्दथें ।
मैले आफ्नो जीवनकालमा केही महत्वपूर्ण कामहरु गरेको छु । जस्तैस् नारीकोटको अमृतजीवन स्कुलको स्थापना, दोसाद हरियाखोलाको स्कुलको स्थापना भयो । पिपलनेटाबाट बथाने बिसौनासम्मको गोरेटो बाटोको निर्माण भयो । अहिले त्यसैमा मोटरबाटो पनि छ । पछि रातामाटामुनि झिमरुक खोलामा झोलुंगे पुलको निर्माण पनि सम्पन्न गरियो । हरियाखोलाबाट अर्खा स्कुलसम्मको घोरेटो बाटोको निर्माण, रिपखोलाबाट ठूलागैरासम्म घोरेटो बाटोको निर्माण मेरो नेतृत्व र पहलमा भएका कामहरु हुन् । मैले धेरै बाधाहरु भए पनि धेरै कामहरु गरें ।
विकास निर्माणबाहेक जनताका काम त यति धेरै गरियो, माथि केही उल्लेख पनि गरिसकेको छु, सबै उल्लेख गरेर सम्भव पनि छैन । मैले सबैभन्दा पहिले शिलन्यास गरेको स्कुल भनेको दाङको भरतपुरमा हो । वीपी कोइराला र मैले संयुक्त रुपमा शिलन्यास गरेका थियौं । त्यसबाहेक गुल्मीको मलागिरीको स्कुल, प्यूठानको खुङको स्कुल पनि मैले नै शिलन्यास गरेको हुँ । खवाङको स्कुल मैले र गञ्जसिंहले संयुक्तरुपमा, खवाङकै अर्को स्कुल म र धर्म गिरीले गरेका हौं । त्यस्तै लिवाङ टिमुरचौरको स्कुल म र हवलदार बलबहादुर सेनले स्थापित गराएका हौं ।
(क्रमशः अर्को अंकमा)
सम्पादन/प्रस्तुति विमल पोखरेल
किसान आन्दोलनको विजयको दिन
३० जेष्ठ २०७८, आईतवार २०:०९ प्रकाशित