घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा बिहिबार कोहलपुर र नेपालगन्ज उपमहानगरलाई २ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
घरेलु महासंघ बाँकेकी अध्यक्ष मधु खड्काका अनुसार कोभिड १९ को दोश्रो लहर चलिरहेको अवस्थामा महामारी नियन्त्रणकालागि सहयोग पुर्याउने उद्धेश्यले जिल्लाभित्रका सबै पालिकाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने अभियान सुरु गरीएको हो । जसअन्तर्गत बिहिबार नेपालगञ्ज उपमहानगरपालिकालाई १ लाख १३ हजार ५८५ मुल्य बराबरको सर्जिकल सामग्रीहरु हस्तान्तरण गरीएको हो । उपमहानगरपालिकका मेयर डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापाको उपस्थितीमा पिपिई सेट, थर्मोमिटर, अक्सिमिटर, सर्जिकल माक्स, सेनिटाईजर, ग्लोब्स लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराईएको खड्काले जानकारी दिईन ।
त्यसैगरी कोहलपुर नगरपालिकालाई समेत ८३ हजार ७ सय मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको खड्काले बताईन । कोहलपुर नगरपालिका परिसरमा मेयर लुट बहादुर रावत र उपमेयर सन्जु कुमारी थारुको उपस्थितीमा उक्त मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर रावतले महामारीलाई परास्त गर्न सबैले आ-आफ्नो ठाँउबाट उल्लेखनिय भुमिका खेल्नुपर्ने बताए । उनले बिभिन्न संघसंस्था तथा निकायसँगको समन्वयका कारण पछिल्लो समय कोहलपुर क्षेत्रमा कोरोना संक्रमणको दर कम हुँदै गएको बताउँदै छिट्टै सबै नगरवासीलाई कोरोनाबाट मुक्त बनाउन नगरपालिका लागिपरेको उल्लेख गरे । उनले सहयोगकालागि घरेलु महासंघको टिमप्रति आभार समेत ब्यक्त गरेका थिए ।
२७ जेष्ठ २०७८, बिहीबार १९:०९ प्रकाशित