यो शेयर बजार भन्ने चिजै यस्तो । यसलाई घट्न र बढ्नका लागि ठूलो निहुँ नै नचाहिने । जापानमा हालै एउटा पाण्डा गर्भवती भएको खबरले शेयर बजारमा एकाएक उछाल आयो ।
जापानको टोक्योस्थित उइनो चिडियाखानामा रहेको एउटा पाण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएसँगै टोक्योका विभिन्न रेष्टुरेन्टहरुको शेयर मूल्यमा शुक्रबार उल्लेख्य बढोत्तरी भएको हो ।
चिडियाखानाका अनुसार १५ वर्षको शिन-शिन नामक पोथी पाण्डाले आफु गर्भवती भएको लक्षण देखाएको छ ।
यद्यपि पाण्डा गर्भवती भए नभएको पुष्टि हुनचाहिँ बाँकी रहेको छ । जीव वैज्ञानिकहरुका अनुसार स्तनधारी जनावरहरुमा गर्भधारण भएको जस्तो लक्षण देखिने तर वास्तविकरुपमा गर्भधारण नहुने घटना धेरै हुन्छन् ।
टोक्योको उइनो चिडियाखाना कोरोना भाइरस महामारीका कारण ५ महिनासम्म बन्द भएर शुक्रबारबाट मात्र खुलेको छ ।
खुल्ने बित्तिकै पाण्डा गर्भवती भएको खबर आएसँगै चिडियाखानामा पर्यटकको संख्या ह्वात्तै बढ्ने पूर्वानुमान गरिएको छ । चिडियाखानामा आउने पर्यटकका कारण आसपासका रेष्टुरेन्टहरुको व्यापार पनि चम्किने प्रक्षेपणका कारण आसपासका विभिन्न ठूला चेन रेष्टुरेन्टहरुको शेयर मूल्यमा उछाल आएको बताइएको छ ।
टोक्योस्थित चाइनिज रेष्टुरेन्ट टोटेन्कोको शेयर मूल्यमा शुक्रबार ३० प्रतिशतले बढोत्तरी भयो । यसअघि सन् २०१३ र २०१७ मा पनि उक्त पाण्डा गर्भवती भएको हुनसक्ने भनी चिडियाखानाले घोषणा गरेसँगै टोटेन्को रेष्टुरेन्टको शेयर मूल्य यसैगरी बढेको थियो । तर पछि उक्त पाण्डाले गर्भाधारण नगरेको पुष्टि भएको थियो ।
यसपटक पाण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएसँगै टोक्योस्थित फ्रेन्च रेष्टुरेन्ट सेइयोकेनको शेयर मूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ । यी दुवै रेष्टुरेन्ट उइनो चिडियाखानाको नजिकै रहेका ठूला रेष्टुरेन्ट चेन हुन् ।
एजेन्सीबाट
२६ जेष्ठ २०७८, बुधबार १९:४८ प्रकाशित