कोहलपुर प्रहरीले ‘निषेधाज्ञा’ को मौका छोपेर सर्वसाधारणहरुसँग नियमित भन्दा बढी भाडा असुल्ने ४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
अत्यावश्यक कामका लागि सडकमा निस्केका सर्वसाधारणहरुबाट दोब्बर/तेब्बरसम्म भाडा असुली गरेको पाइएकोले कोहलपुरका विभिन्न स्थानबाट शुक्रबार ४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिई कारबाही गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
अत्यावश्यक कामका लागि निस्केका सर्वसाधारणहरुसँग कोहलपुर चौराहादेखी चिसापानीसम्मको ३ सय, मदन चोकसम्मको १ सय र राँझा चोकसम्मको ५ सय रुपैयाँ असुल गरी सर्वसाधारणहरुलाई मारमा पारेको पाइएको हुदा भे१ह २०४५, भे१ह ३३६४, भे१ह ३८५२ र भे१ह ९६९ नम्बरका अटोरिक्सालाई नियन्त्रणमा लिई कारबाही गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी, निषेधाज्ञाको अटेर गरी पसल संचालन गरेका कोहलपुरका सात जना व्यवसायी र अनावश्यक रुपमा सडकमा हिडडुल गरेका ३३ वटा अटो रिक्सालाई नियन्त्रणमा लिएर अब उप्रान्त निषेधाज्ञाको पालना गर्ने गरी कोभिड-१९ सम्बन्धि सचेतना गराई छोडिएको प्रहरीले जनाएको छ ।
२२ जेष्ठ २०७८, शनिबार ०७:५० प्रकाशित