बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो केही दिनयता दुई अंकमा सिमित भएको संक्रमण दरले बाँकेको कोरोना संक्रमणको अवस्था घट्दै गएको देखाएको छ । शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोभिड पुष्टि भएको छ । कुल ३४५ नमुना परीक्षण गर्दा ८७ जनामा मात्र संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
शुक्रबार भेरी अस्पतालको प्रयोगशालामा २२२ नमुना परीक्षण गर्दा ५७ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा १२ जना र बागेश्वरी ल्याबमा ५६ नमुना परीक्षण गर्दा १८ जना गरि कुल ८७ संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका ३१ जना छन् । जिल्लाका १६ जना महिला र १५ जना पुरुष गरि ३१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार ९११ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसैबिच शुक्रबार बाँकेमा कोरोना संक्रमण मुक्त भई १८९ जना डिस्चार्ज भएका छन् । ८६ जना महिला र १०३ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । जिल्लाका दुई जना र जिल्ला बाहिरका ६ जना गरि थप ८ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
२१ जेष्ठ २०७८, शुक्रबार १६:४३ प्रकाशित