‘वातावरण संरक्षण सम्बन्धि कानून कार्यान्वयन’ विषयक अन्तरक्रिया
  • काँचुली खबर

बिश्व बाताबरण दिवस ५ जुन २०२१ को अवसर पारेर नेपालगन्जमा आज भर्चुअल माध्यमबाट ‘वातावरण संरक्षण सम्बन्धि कानून कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरु माथी अधिवक्ता बिश्वजित तिवारी, अधिवक्ता पदमबहादुर श्रेष्ठ र डिभिजनल वन अधिकृत राजु क्षत्रीले सहजीकरण गरेका थिए ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा वातावरण संरक्षण सम्बन्धि थुप्रै ऐन, कानून बनेपनि बनेका कानूनहरु कार्यान्वयनमा नआउने हुनाले जटिलता थपिएको भन्दै शतप्रतिशत कार्यान्वयनमा ल्याउनु पर्ने कुरामा जोड दिएका थिए ।

अधिवक्ता बिश्वजित तिवारीले वातावरण संरक्षण सम्बन्धि सम्पुर्ण मुद्दाहरुलाई सम्बोधन गर्नका लागि सर्वोच्च अदालतमा छुट्टै वातावरण इजलास गठन हुनुपर्ने र त्यस्ता मुद्दाहरु त्यहीँबाट किनारा लगाउनु पर्नेमा जोड दिएका थिए ।

डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले वातावरणीय अध्ययन सम्बन्धि व्यवस्था, प्रदुषण नियन्त्रण, जलवायु परिवर्तन सम्बन्धि व्यवस्था, राष्ट्रिय सम्पदा संरक्षण तथा वातावरण संरक्षण, जरिवाना तथा क्षतिपूर्ति सम्बन्धि व्यवस्थाका बारेमा प्रष्ट पारेका थिए ।

डिभिजन वन कार्यालय बाँके, वातावरण कानून व्यवसायी समाज काठमाडौ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिन एण्ड ग्रीन नेपालगन्जको संयुक्त आयोजनमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई मौलिक हकका रूपमा राखेको छ, तर सर्वसाधारणले मौलिक अधिकारको प्रत्याभूति गर्न सकेका छैनन् । वायु प्रदूषण सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत भएको छ । प्रदूषणबारे थुप्रै नीति–निर्माण तथा बहस भए पनि वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १४:३८ प्रकाशित
  • Nabintech