एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ ।
एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन् । ओलीको सन्देशलाई नेता नेपालले अलमल्याउन अपनाएको फन्डाका रूपमा लिएका छन् ।
‘जब ओली संकट महसुस गर्छन् त्यसपछि अनेकन फन्डा गर्न थाल्छन् । उनले पुरानो कमिटी ब्युँताउँछु भन्नु पनि त्यही फन्डा हो । साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन चाहेका छैनन्’, नेता नेपालले बुधबारको एक भर्चुअल बैठकमा भने ।
उनले आफू आन्दोलनबाट पछि नहट्ने समेत बताए । ‘हामी धेरै अघि बढिसकेका छौं, ओलीको चालबाजीमा फस्नेवाला छैनौं । ओलीले एकपटक होइन, धेरै पटक धोका दिएका छन् ।
यही अवस्थामा धेरै संवाद गर्नुको कुनै अर्थ छैन । जेजे गर्नु छ तीन दिनभित्र टुंग्याउन म साथीहरूलाई आग्रह गर्छु’, नेपालले भर्चुअल बैठकलाई सम्बोधन गर्दै भने ।
ओली समूहले गरेको कारबाहीको नाटक सबैभन्दा घातक भएको नेता नेपालको भनाइ थियो । ‘संवाद गर्छु भन्ने कारबाही गर्ने, संवाद गर्दागर्दै संसद् विघटन गरेर झन् लोकतान्त्रिक मूल्य र संविधानमाथि नै प्रहार गर्ने, यस्तो पनि संवाद गर्ने तरीका हो’, उनले भने । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
२० जेष्ठ २०७८, बिहीबार ०७:५३ प्रकाशित