बाँकेमा पछिल्लो समयमा कोरोनाबाट संक्रमण हुनेको संख्या केही कम भएको छ । मृत्युु हुनेको संख्यामा पनि थोरै कम देखिएको छ ।
जिल्लाका विभिन्न अस्पतालहरुले संचालनमा ल्याएका कोभिड वार्डहरुमा अझै धेरै संख्यामा कोरोना संक्रमित बिरामीहरु उपचाररत रहेका छन ।
जिल्लाका विभिन्न चारवटा अस्पतालमा अझै २६१ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । २६१ बिरामी मध्ये ११५ जना सिकिस्त रहेको समितिले उल्लेख गरेको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले सोमबार दिउँसो ४:४० बजे जारी गतेको अद्यावधिक बिबरण अनुसार, भेरी अस्पताल नेपालगन्जमा १५२ जना कोरोनाका बिरामी उपचाररत रहेका छन । जसमध्ये, ११४ जना मध्यम र ३८ जना सिकिस्त रहेका छन ।
त्यसैगरी, मेडिकल कलेज कोहलपुरमा २५ मध्यम र ७३ जना सिकिस्त, वेस्टर्न अस्पताल नेपालगन्जमा ४ जना सिकिस्त र युनाइटेड अस्पताल नेपालगन्जमा ७ जना मध्यम बिरामीको उपचार भैरहेको समितिले जनाएको छ ।
२६१ जना बिरामीमध्ये, १०६ जना बाँके जिल्लाका हुन भने, १५५ जना बाहिरी जिल्लाका बिरामी भएको समितिले बताएको छ ।
१७ जेष्ठ २०७८, सोमबार १९:३० प्रकाशित