नेपालको राजनीतिक इतिहाँसमा प्रधानमन्त्री केपी शर्मा ओली चुतुर राजनीतिज्ञमा गनिन्छन् । भनिन्छ, आवश्यक्ता अनुसार ‘साम, दाम, दण्ड, भेद’ सवै खालका संयत्र र सुत्र परिचालन गर्न सक्ने खुवी छ उनमा । जानकारहरुका अनुसार आफ्नालाई काखी च्याप्ने र मन नपरेको मान्छेलाई अन्तिम अवस्थासम्म लखेट्ने उनको प्रवृत्ति छ । त्यसका लागि कसलाई प्रयोग गर्दा नतिजा आफनो पक्षमा पार्न सकिन्छ भन्ने उनलाई राम्रो ज्ञान छ ।
यसैको नतिजाका रुपमा लामो समय वैंकमा जागिर गरेका युवराज खतिवडा अर्थमन्त्री भए । नेकपारएमाले र त्यसभित्र पनि आफनै समुहका धेरै नेताहरुलाई पाखा लगाएर उनले खतिवडालाई अर्थ मन्त्रालयमा भित्र्याए । त्यति मात्रले नपुगेर उनले खतिवडालाई अमेरिकाको राजदुत नै बनाएर पठाए । उनले मन परेकालाई कसरी च्याप्छन भन्ने कुरा खतिवडालाई मात्र हेरेपनि पुष्टि हुन्छ ।
अर्कोतर्फ, एमाले भित्र वरिष्ठ नेता माधव नेपाल र पार्टी एकिकरणपछि पुस्पकमल दाहाल ‘प्रचण्ड’ समेतलाई ओलीले सिद्याउने प्रयत्न गरिरहे । अहिले पनि उनको प्रयत्न यिनै दुई पात्रलाई ठेगान लगाउनमै केन्द्रित छ । दाहाल-नेपाललाई ठिक ठाउँमा राख्न सके आगामी निर्वाचनमा परिणाम आफु अनुकुल ल्याउन सकिने उनको आँकलन छ । आफना निकटवर्तीहरुसँगको कुराकानीमा उनले यस विषयमा खुलेरै कुराकानी गर्ने गरेका छन् ।
ओलीको यहि प्रकरण अन्तर्गत केहि दिनअघि चर्चामा आएका हुन, पुर्व प्रधान सेनापति रुक्मांगद कट्वाल । सर्वोच्च अदालतले संसद नभएका ब्यक्तिलाई पटक-पटक मन्त्री वनाउन नमिल्ने भन्दै फैसला सुनाएपछि ओली सरकारमा रहेका पुर्व माओवादी नेता रामबहादुर थापा ‘वादल’ पुनः पदच्युत भए ।
हुन त गृहमन्त्री बन्न एमाले भित्र पनि एकसेएक नेता लाईनमा छन् । महासचिव इश्वर पोखरेल स्वयम गृहमन्त्री बन्न हरसम्भव प्रयास गरिरहेका छन् । तर, ओली भने यहि मौकामा आफु अनुकुल र निडर गृहमन्त्री बनाएर प्रचण्ड र माधवलाई ठेगान लगाउने योजनामा थिए । त्यसैले उनको नजर कटवालमा पुग्यो । कट्वाल स्वयमले पनि गृहमन्त्री बन्न पहल त गरे तर विवाद हुन थालेपछि उनी स्वयं इन्कार गरे ।
प्रधानमन्त्री ओलीले कट्वाललाई गृहमन्त्री बनाउन खोज्नुका पछाडि पनि अर्थपुर्ण कारण छ । प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली सेनाका प्रधान सेनापति थिए, रुक्मांगद कट्वाल । दुवैका विचमा राम्रो तालमेल नभएपछि प्रचण्डले कटवाललाई हटाएर दोस्रो वरियताका बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई प्रधान सेनापति तोकिदिए । तर, कट्वालले जिम्मेवारी छोड्न मानेनन् । त्यसैले २० वैशाख २०६६ मा एकै दिन नेपाली सेनाले ‘दुई प्रधानसेनापति’ पायो ।
सरकारी आदेश पालना नगरेर सेनापति कटवाल नागरिक नियन्त्रणबाट बाहिर जान खोजेको आरोप सत्तारुढ दलको थियो भने कटवालले पनि माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । र, विपक्षी दलको समर्थन आफ्नो पक्षमा जुटाए ।
त्यसै दिन साँझ राष्ट्रपति रामवरण यादवले समेत कटवाललाई पत्र लेखेर पद नछाड्न र प्रधानमन्त्रीले दिएको निर्देशनको उल्लंघन गर्न भनेपछि प्रकरण उत्कर्षमा पुग्यो । अन्ततः तत्कालीन सरकार प्रमुख प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ले राजीनामा दिनुपर्यो । यहि प्रकरणका कारण कटवाल गृहमन्त्रीका लागि ओलीको रोजाईमा परेका हुन । तर, विवाद वढ्दै गएपछि कटवाल पछि सरेकाले ओलीको योजना पुरा हुन पाएन ।
तर, ओली यति मै निच मारेर नवस्ने विश्लेषकहरु बताउँछन् । ओलीले अव गृहमन्त्रीका लागि राजावादीभित्र खोजी सुरु गरेको उनीहरुको भनाई छ । राजावादीबाट गृहमन्त्री वनाउँदा उक्त समुहलाई समेटेको र मर्यादा राखेको देखिने तथा आफनो योजना अनुसार प्रचण्ड र माधवलाई साईजमा राख्न पनि सकिने भएकाले ओलीले राजावादीहरुको विचमा खेल्न सुरु गरिसकेको उनीहरु वताउँछन् ।
राजावादी भित्र पनि उपर्युक्त ब्यक्तिको खोजी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको नाम पनि गृहमन्त्रीको चर्चामा रहेको जानकारहरु बताउँछन् । जनआन्दोलनका समयमा थापा नै गृहमन्त्री थिए । उनले राजनीतिक दलहरुलाई ठेगान लगाउन सकेसम्मको तागत लगाएको नेताहरु बताउँछन् । उनले राजनीतिक दल र तिनका नेताहरुलाई ठेगान लगाउने तानाबाना बुन्दै गर्दा कपी ओली भने ‘वयल गाडा चढेर अमेरिका पुगिंदैन’ भन्दै निच मारेर बसेका थिए ।
त्यसैले प्रचण्ड-माधवलाई तह लगाउन थापा पनि एक पात्र हुन सक्ने भएकाले ओलीको रोजाईमा थापा पर्न सक्ने सुत्रको दावी छ । थापालाई गृहमन्त्री बनाउने विषयमा आन्तरिक छलफल र तयारी समेत भईरहेको र त्यहाँ कुरा नमिले अन्य विकल्प समेत खोजी भईरहेको श्रोत बताउँछ ।
कमल थापा सुटुक्क बालुवाटार पुगे
राप्रपाका अध्यक्ष कमल थापा जेठ १० गते सुटुक्क बालुवाटार पुगे । बिहान साढे १० बजेतिर बालुवाटार प्रवेश गरेका उनी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता त्यतिबेला भयो, जतिबेला ओली प्रतिनिधिसभा भंग गरेर चौतर्फी आलोचित थिए ।
विघटित प्रतिनिधिसभामा जम्मा एक सिट रहेको कमल थापाको पार्टी र संसदमा १२१ सिट रहेको केपी ओलीको पार्टीबीच वैचारिक रुपमा आकाश-जमिनको फरक छ । तर, ओली र थापाबीच यति निकटता छ कि विगतमा सत्ता सहकार्यदेखि लिएर चुनावी गठबन्धनका साथ विभिन्न मुद्दामा पनि सहकार्य हुँदै आएको छ ।
पछिल्लो समय गत जेठ ६ गते बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभाको एक पदमा भएको उपनिर्वाचनमा कमल थापाकै जोडबलमा राप्रपाले एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाएको थियो । पार्टीमा बृहद छलफल नगरी एमालेलाई सघाएको भन्दै राप्रपाको कार्यकर्ता तहबाट विरोधसमेत भएको थियो ।
संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षपाती राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षताका साथै संघीयताको समेत घोर विरोध गर्दै आएको छ । उसो त आफ्नो गतिविधिका कारण प्रधानमन्त्री ओली कम्युनिस्ट नेता भए पनि हिन्दुधर्मतिर झुकाव देखाएको महसुस गर्नेहरु पनि कम छैनन् ।
पार्टी विभाजन हुँदै राजनीतिकरुपमा कमजोर धरातलमा पुगेका ओलीले अन्तिम अश्त्रका रुपमा चुनावमा हिन्दु राष्ट्रको एजेण्डा ल्याउन सक्ने टीकाटिप्पणी समेत हुँदै आएको छ । ओली-थापा एजेण्डाका हिसाबले दुई किनारामा रहे पनि विगतका उदाहरण र पछिल्लो क्रियाकलापले उनीहरुबीच ‘पोलिटिकल रिलेशसन’ अचम्मलाग्दो देखाएको छ ।
उसो त जनाधार कमजोर रहेको राप्रपाका अध्यक्ष थापाले ओलीले प्रतिनिधिसभा विघटन गरेर राम्रो गरेको बताउँदै आएका छन् । पछिल्लो समय प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जानुपर्ने पक्षमा रहेका थापाले जेठ ८ गते अबको कार्यभार भन्दै ट्वीटरमा भनेका थिए, ‘स्वास्थ संकटकाल घोषणा गर्ने, सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने, आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने, चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने ।’
स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापाले आफू निकटसँग ओली सत्ता सहकार्यका लागि सकारात्मक वातावरण बनेको र त्यसका लागि आफू पनि माहोल बनाउन लागिपरेको बताउने गरेका छन् । सो कुराले अहिलेसम्म राप्रपाको बैठकमा औपचारिक रुपमा प्रवेश नपाए पनि पार्टीभित्र चर्चाको विषय भने बनेको छ । राप्रपा नेता जगत गौचनले अहिलेको अवस्थामा पार्टी सरकारमा जाने भन्ने कुरा सोच्न पनि नसकिने बताए । उनले यसबारे पार्टीमा कुनै छलफल नभएको र अहिलेको कार्यभार सरकारमा जानेभन्दा पनि पार्टी बनाउने रहेको बताए ।
तत्कालीन राप्रपा र राप्रपा प्रजातान्त्रिक एक भएर बनेको राप्रपाको अहिलेसम्म पनि एकता महाधिवेशन भएको छैन । एकतापछि तीन अध्यक्ष भएको राप्रपामा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा सरकारमा जाने भन्ने प्रस्ताव सुन्न पनि तयार छैनन् । यही बुझेका थापाले पार्टीमा छलफल नचलाएको र बाहिर नै आफू निकटस्थबाट सरकारमा जानेबारे चर्चा चलाएको ती नेताको भनाइ छ । विगतमा पनि सरकारमा जाने बारेमा राप्रपामा विवाद रहेको र सोही कारण पार्टी विभाजितसमेत बनेको तीतो यथार्थका बीच फेरि सरकारमा जानेबारे चर्चा सुरु भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली आफ्नो पक्षमा माहोल बनाउनका लागि राप्रपालाई पनि जसपालाई जसरी नै सरकारमा ल्याउन चाहन्छन् । त्यसका लागि उनको दुईवटा स्वार्थ छ, राप्रपालाई सरकारमा सहभागी गराए सो पार्टीमा बचेखुलेको धार्मिक भोट छिन्नभिन्न हुने उनको बुझाइ छ । अर्को, आगामी दिनमा हिन्दु सेन्टिमेन्ट तान्न राप्रपालाई एक हुन दिन नहुने बालुवाटारको विश्लेषण छ ।
प्रतिनिधिसभा विघटन सर्वोच्चबाट सदर भए ओली वैधानिक रुपमा चुनावमा होमिन पाउनेछन् । त्यसका लागि सहज वातावरण बनाउन उनले कमल थापालाई सहयात्रीको रुपमा उपभोग त गर्ने नै छन् । कमल थापा संघीय सांसद नरहे पनि संविधानले दिएको अधिकारलाई उपयोग गरेर ६ महिनासम्म सरकारमा सामेल हुनका लागि आतुर रहेको स्रोत बताउँछ ।
१७ जेष्ठ २०७८, सोमबार १९:५६ प्रकाशित