भेरी अस्पतालमा सुरक्षाका लागि खटाइयो २५ प्रहरी
  • काँचुली खबर

भेरी अस्पताल नेपालगन्जमा आजदेखी सुरक्षा व्यवस्था कडा गराइएको छ । जिल्ला प्रहरी कार्यालयबाट अस्पतालमा २४ सै घण्टा सुरक्षा प्रदान गर्नका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा २५ जना प्रहरी परिचालन गरिएको छ । डाक्टर र नर्समाथि पटक–पटक आक्रमण भइरहेपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
दाङका कोरोना संक्रमित डिल्ली रावतको मृत्युपछि उनका आफन्तले डिउटीमा खटिएका डाक्टर र नर्सलाई लखेटी लखेटी घाटी थिचेको घटना पछि अस्पतालको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
यसअघि अस्पतालमा हवल्दारको कमान्डमा ३ जना प्रहरीले सुरक्षा प्रदान गर्दै आइरहेका थिए । तर, सानो संख्याको प्रहरी र बेला बेलामा स्वास्थ्यकर्मीमाथी आक्रमण हुन लागेपछि आजदेखी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
अस्पतालका डाक्टर, नर्सलगायत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको २४ सै घण्टा सुरक्षा प्रदान गर्नका लागि प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी अस्पतालमा परिचालन गरिएको उनले बताए ।
‘अस्पतालको सुरक्षाका लागि पहिले हवल्दारको कमान्डमा ३ जना प्रहरी खटाइएको थियो, पछि संख्या बढाएर ७ पुर्‍याइयो तर, पछिल्लो समयमा चिकित्सक लगायत स्वास्थ्यकर्मीमाथि आक्रमण हुने घटना बढ्न थालेपछि आजदेखी संख्या बढाएर २५ बनाएका छौं ।’ एसपी रानाले भने ।
भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विरामी उपचारका लागि आउँछन् । अस्पतालमा विरामी र कुरुवाको चाप रहने गर्दछ । पटक–पटक डाक्टर र नर्समाथि आक्रमण हुन थालेपछि कुरुवालाई पासको व्यवस्था गरिएको छ । एकजना विरामीको एकजना कुरुवामात्रै वार्डमा जान दिने तयारी गरिएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १६:१२ प्रकाशित
  • Nabintech