उपेन्द्र यादव समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने
  • काँचुली खबर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्‍ने निर्णय गरेको छ । शनिबार राति अबेरसम्म बसेको कार्यकारिणी समिति बैठकले महतोलाई नेता नमान्‍ने निर्णय गरेको हो ।
जसपाभित्र वर्तमान सरकारलाई समर्थन गर्ने या विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्‍ने विषयमा विवाद चर्किएपछि अर्का अध्यक्ष महन्थ ठाकुर समूहले बहुमत सांसदहरूको भेला गराएर नेता महतोलाई गत बैशाख ३० गते संसदीय दलको नेता बनाएको थियो । तर यादव समूहले भने उक्त निर्णय अस्वीकार गर्दै आएको थियो ।
यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू उपस्थित बैठकले विधि–विधानविपरीत एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य नहुने निर्णय गरेको हो । अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान नभएको र पार्टीले निर्वाचन समितिसमेत नबाएको अवस्थामा अवैध तवरले गरिएको दलको नेता चयन अस्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
उनले पार्टी विधान उल्लंघन गर्ने नेताहरूलाई कारबाही गर्ने जानकारी पनि दिए । बैठकले असंवैधानिक तवरले संसद् विघटन गरिएको भन्दै यसको बिरोध गरेको छ । त्यस्तै संसद् विघटनको विरुद्धमा विपक्षी ५ दलले गरेको निर्णयको स्वागत गर्ने निर्णय पनि गरेको यादवले जानकारी दिए । उनले सरकारको कदमविरुद्ध परिवर्तनकारी शक्तिसँगको सहकार्यलाई अघि बढाउने बताए । ।
जसपा कार्यकारिणी समितिमा उपेन्द्र यादव समूहको बहुमत छ भने संसदीय दलमा महन्थ ठाकुर समूहको बहुमत छ ।

  • ९ जेष्ठ २०७८, आईतवार ०७:५९ प्रकाशित
  • Nabintech