शपथको ७ दिनमै गयो ७ मन्त्रीको पद !
  • काँचुली खबर

संघीय संसदको सदस्य नरहेका ७ मन्त्रीको पद शपथ लिएको ७ दिनमै गएको छ ।

सांसद नरहेको व्यक्ति पटक-पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ मन्त्रीको पद गएको हो ।

संविधानको धारा ७६(३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै उनीहरूले पनि वैशाख ३१ गते शपथ लिएका थिए ।

वैशाख ३१ गते शपथ लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीको मन्त्री पद बिहीवार गुमेको हो ।

माओवादीबाट एमाले प्रवेश गरेका उनीहरूको सांसद पद गुमेपछि यसअघि दोहोर्‍याएर मन्त्रीको शपथ लिएका थिए । वैशाख ३१ गते उनीहरूले तेस्रो पटक शपथ लिएका थिए । सांसद नै नरहेका मणि थापा र दावा लामाको पद पनि खारेज भएको छ ।

सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश

प्रतिनिधिसभा विघटनसँगै थापा र लामा मन्त्री बनेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले बिहीवार सांसद नभएका व्यक्ति पटक-पटक मन्त्री बन्न नपाउने निर्णय गरेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार १६:५६ प्रकाशित
  • Nabintech