बागमतीमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज, बादल र देवकोटाको मुख्य प्रतिस्पर्धा
  • काँचुली खबर

वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । हेटौँडामा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन ।
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपा एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि माधव नेपाल र झलनाथ खनाल पक्षले उम्मेद्वारी दर्ताका बेला देवकोटालाई समर्थन गरेको थियो ।
यो उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन मिलाइसकेको छ । उनीहको स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सबै प्रबन्ध मिलाइएको केन्द्रले जानकारी दिएको छ । हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन वटा केन्द्रमा आज मतदान हुनेछ ।
केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदान गर्न पाइने व्यवस्था मिलाएको छ । यसअघि मतदाताका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनु पर्ने भनिए पनि अहिले त्यो बाध्यकारी ब्यवस्था हटाइएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार ०८:२५ प्रकाशित
  • Nabintech