रहेनन धनबीर ‘बा’
  • काँचुली खबर

पुर्वी प्युठानका ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षाप्रेमी, हक्की स्वभावका व्यक्तित्व तथा सक्रिय राजनितीकर्मी धनबीर बिश्वकर्माको ९१ बर्षको उमेरमा निधन भएको छ ।
समाजसेवी बिश्वकर्माको गएराती आफ्नै निवास साबिकको बिजुली गाबिस १, हालको ऐरावती गाउँपालिका वडा नम्बर ६ धनफुलेमा निधन भएको उनका छोरा नारायण बिश्वकर्माले जानकारी दिए ।
बिश्वकर्मा पुर्बी प्युठानमा हक्की स्वभावका व्यक्ति, निडर, शिक्षाप्रेमी तथा समाजसेवी भनेर चिनिन्थे । पन्चायतकालमा तत्कालिन बिजुली गाउँ पन्चायत वडा नम्बर १ को वडा सदस्य तथा २०४२ सालमा वडा अध्यक्ष भएर काम गरेका थिए ।
नेपालमा बहुदल आएपछि उनी २०४८ सालपछि नेपाली काङ्ग्रेसमा प्रवेश गरेको र केही बर्षपछि फेरि उनी राप्रपामा प्रवेश गरी राजनीति गरेका थिए । २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले प्युठान जिबिसको सदस्यमा बिश्वकर्मालाई मनोनीत गरेका थिए । जिबिस सदस्य मनोनीत भएर उनि सदरमुकाम खलंगा बस्न थालेपछि गाउँमा उनको घरमा तत्कालीन माओवादीले ताला लगाइदिएका थिए ।
बिश्वकर्मा कसै सङ्ग नडराउने, उमेरले बूढो भएपनि समाजसेवा र राजनीतिमा सधै सक्रिय रहने, हक्की तथा शिक्षाप्रेमी भएको बताउँछन तत्कालीन प्युठान जिबिसका उपसभापति बुद्धबहादुर जिसी । उनको मृत्युले पुर्बी प्युठानले ऐतिहासिक एक अग्रज व्यक्तित्व गुमाएको उनले बताए ।
पछिल्लो समयमा उनी जनता माध्यमिक बिद्यालय बिजुलीको बिद्यालय व्यवस्थापन समितिको सदस्य, स्थानीय सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा रहेर काम गरेका थिए ।
जिवनको अन्तिम अवस्थासम्म पनि उनि शिक्षा, स्वास्थ्य, बिकास निर्माण लगायतका काममा समुदायमा अग्रणी भुमिका निर्वाह गर्दै आएका थिए । पुर्वी प्युठानमा उनलाई सबैले धनबीर ‘बा’ भनेर सम्बोधन गर्दथे । धनबीर ‘बा’ प्रति काँचुली खबर परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

  • ४ जेष्ठ २०७८, मंगलवार १४:०५ प्रकाशित
  • Nabintech