नेपाल टेलिकमले ग्राहकको माग अनुसार आज (सोमबार) देखि फोरजी भ्वाइस सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा टेलिकमले आजबाट प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा यो सेवाको परीक्षण शुरुवात गरेको प्रवक्ता राजेश जोशीले बताए ।
टेलिकमले आफ्नो सेवालाई समयनुकुल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ र्टम इभोलुसन (भोल्ट) सेवा सञ्चालनमा ल्याएको जोशीले जानकारी दिए ।
यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता बड्ने टेलिकमले जनाएको छ ।
यो सेवा प्राप्त गर्न आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याज डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा एक्टिभेट गर्न सकिने जनाएको छ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोल्ट कल फर एनटिसी सिम समेत इनेबल गर्नु पर्ने टेलिकमले जनाएको छ ।
मोबाइल सेटको माथिल्लो लहरमा भोल्टको संकेत देखा परे पछि स्टार १११ ह्याज डायल गरे पछि यो सेवा लिन सकिन्छ । २८ दिनसम्म प्रयोग गर्न सकिने यो सेवा एक सय मिनेट भोल्ट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।
कुन–कुन मोबाइल सेटमा सपोर्ट गर्छ ?
नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा भिओ एलटिई सेवा प्राप्त हुन्छ । तर यो सेवा सपोर्ट गर्ने÷नगर्ने भन्ने कुरा तपाईंको मोबाइल सेटमा भर पर्छ।
हाललाई सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध छ । भ्वाइस ओभर एलटिई सेवा एक्टिभ हुने मोबाइलका मोडेलहरु यी हुन्–
१. सामसङ
Galaxy M01s, Galaxy M02, Galaxy M02s, Galaxy M11, Galaxy M12, Galaxy M21, Galaxy M30s, Galaxy M31, Galaxy A12, Galaxy A51, Galaxy A52, Galaxy A70, Galaxy A70s, Galaxy A71, Galaxy A72, Galaxy Note 10 Lite, Galaxy S10, Galaxy S10+, Galaxy S10e, Galaxy S20, Galaxy S20+, Galaxy S20 ultra, Galaxy S20 FE, Galaxy S21, Galaxy S21+, Galaxy S21 Ultra, Galaxy Note 10, Galaxy Note 10+, Galaxy Note 20, Note 20 Ultra, Galaxy Z Fold2.
२. साओमी
Redmi 9 Prime, Mi10, Redmi 9C, Redmi Note 9 Pro, Redmi 8A
३. नोकिया
Nokia 5.3, Nokia 7.2, Nokia 3.4
नेपाल टेलिकमले अन्य मोडेलहरुमा पनि भिओ एलटिई सेवा उपलब्ध गराउने काममा क्रियाशील रहेको जनाएको छ ।
३ जेष्ठ २०७८, सोमबार १०:०२ प्रकाशित