नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान सदस्य, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले दोश्रो पटक कोरोनालाई जितेका छन ।
व्यापारी तथा समाजसेवी श्रेष्ठलाई भेरी अस्पतालका कोरोना संक्रमितहरुको व्यवस्थापन तथा रेखदेख गर्दागर्दै गत बैशाख १९ गते दोश्रो पटक कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण भएपछि उनि हप्ता दिनसम्म होम आइसोलेसनमै बसेका थिए । स्वास्थ्यमा समस्या देखिन थालेपछि उनि एक हप्ता पहिले भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएर उपचाररत थिए । कोरोना संक्रमणबाट मुक्त भएपछि अस्पतालबाट शनिबार डिस्चार्ज भएर घर फर्किएको श्रेष्ठले बताए । आफुसँगै श्रीमती पनि कोरोना संक्रमित भएको श्रेष्ठले बताए । श्रीमती भने होम आइसोलेसनमै बसेर निको भएको उनले जानकारी दिए ।
उनलाई गतसाल पनि पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । गतसाल उनि १४ दिनसम्म नेपालगन्जको एक होटलको आइसोलेसनमा बसेर कोरोना मुक्त भइ घर फर्केका थिए । हप्तादिन सम्म घरमै आराम गर्ने र पुर्ण रुपमा स्वस्थ भइ सकेपछि पुनः अस्पतालका बिरामीहरुको व्यवस्थापन तथा समाजसेवामा फर्किने श्रेष्ठले बताए ।
२ जेष्ठ २०७८, आईतवार १०:०४ प्रकाशित