बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा खाद्यान्न लगायतका अति आवश्यक पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएका कारण मानिसहरूको भिडभाड नहोस भनेर स्वास्थ सेवा बाहेक खाद्यान्न लगायत अति आवश्यक पसल बिहान ९ बजे सम्म मात्र खोल्न दिने गरेको प्रहरी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुल बहादुर बमले जानकारी दिए ।
‘स्वास्थ सुरक्षा सामाग्री तथा सामाजिक दुरी कायम गरेर अति आवश्यक भएमा आंशिक रूपमा बिहान ९ बजेसम्म खाद्यान्न पसल संचालन गर्न भनेका छौ’ बमले भने । त्यस्तै भिडभाड नगर्न र अनिवार्य मास्क लगाउन कडाइ गरिएको छ । प्रहरी बिटले वडा कार्यालयसँग समन्वय गरेर गाउँ गाउँमा गस्ती बढाएको प्रहरी बिटले जनाएको छ ।
यसैबिच राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महावीर वलीले कोभिड-१९ को जोखिम बढ्दै गएको हुँदा वडा कार्यालय हप्ताको एकदिन बुधबार मात्रै खोल्ने गरेको बताए । साथै वडाध्यक्ष वलीले आफू स्वास्थकर्मी सहित वडा भित्र रहेका कोरोना संक्रमितको अवस्था बुझ्न घर घरमा पुग्ने गरेको र संक्रमितको अवस्था हेरी अस्पतालमा पठाउने गरेको बताए ।
१ जेष्ठ २०७८, शनिबार ११:१० प्रकाशित