१६ चैत्र २०८०, शुक्रबार
भेरी-बबई डाइभर्सनको लागत वृद्धि
  • काँचुली खबर

बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ ।
आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा १२ अर्ब ६३ करोड लागत अनुमान गरिएकोमा अहिले यस्को लागत १६ अर्ब ४३ करोड लाग्ने आंकलन गरिएको छ । आर्थिक वर्ष ०६८|६९ मा अगाडि बढाइएको यो आयोजना आर्थिक वर्ष ०७७|७८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
चालू आवको बजेटमा सरकारले यो आयोजनाका लागि ८८ करोड बजेट विनियोजन गरेको थियो । त्यो रकम सकेर आयोजनाले थप २ अर्ब ५ करोड रकम पनि सक्न लगिसकेको छ । आयोजनाका लागि अझै डेढ अर्ब रकम आवश्यक परेको बस्नेतले बताए । उनका अनुसार आयोजना सम्पन्न भएपछि बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ हुनेछ भने ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।
सिँचाइका लागि सुरुङ खन्ने काम अघि बढे पनि बिजुली उत्पादनका लागि आयोजनाले काम अघि बढाएको छैन । विद्युत् उत्पादनका लागि चिप्लेमा हेडबक्स र हात्तीखालमा पावरहाउस बनाउनुपर्छ । तर, यसका लागि टेण्डरसमेत भएको छैन । आयोजना प्रमुख बस्नेतले भने, “जोखिमयुक्त भाग खनेर सकेपछि जलविद्युत्को काम अघि बढाउने सोचमा छौं ।” अहिले जलविद्युत्गृह निर्माणका लागि आयोजनाले टेबल बक्समा मात्रै काम गरिरहेको छ । बस्नेतका अनुसार अहिलेम्म करिब ४० प्रतिशत काम सकिएको छ । राष्ट्रिय गौरवको यो आयोजनाका लागि खन्नुपर्ने कुल १२ मध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ अब केही समयपछि सुरुङ खन्ने काम सुरु हुनेछ । बस्नेतले भने, “अब १ किमिपछि जोखिमयुक्त स्थान आउने हाम्रो आंकलन छ, त्यसपछि मात्रै थाहा हुन्छ काम कहिले सकिन्छ भन्ने ।”
सन् २०२० सम्ममा सुरुङ खनिसक्ने आयोजनाको लक्ष्य छ । मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्नेछ ।
टीबीएमको माध्यमबाट सुरुंग खन्न सुरु गरिएपछि निकै तीव्र गतिमा सुरुंग खन्ने कार्य भइरहेको आयोजनाले जनाएको छ । हालसम्म ५ किमिभन्दा बढी सुरुंग खन्ने कार्य सम्पन्न भइसकेको छ ।

  • ११ असार २०७५, सोमबार १४:४४ प्रकाशित
  • Nabintech