पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को महामारीका बिच महासंघ बाँकेको शुक्रबार सम्पन्न दोस्रो बैठकले एम्बुलेन्स खरीद गरी संचालन गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए ।
उनका अनुसार एम्बुलेन्स खरिदको प्रक्रिया चाँडै अगाडि बढाइनेछ । एम्बुलेन्स खरिद गरिसकेपछि सञ्चालन र व्यवस्थापनको सम्पूर्ण काम महासंघ बाँके शाखाले नै गर्ने छ ।
एम्बुलेन्स सञ्चालन गर्नेमा बाँके सम्भवतः मुलुककै पहिलो शाखा हुने दाबी गरिएको छ ।
शाखा सचिव कमल डाँगीका अनुसार मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा ७ सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।
पत्रकारको उपचारकालागि महासंघले अपनत्व लिने
एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी/गैरसरकारी निकाय सबैलाई सार्वजनिक रुपमा आब्हान गरिएको सचिव डाँगीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
महासंघ बाँके शाखाले कोरोना महामारीलाई लक्षित गर्दै पत्रकारका लागि निःशुल्क रुपमा विशेषज्ञ सेवा पनि प्रदान गर्दै आएको छ । शाखाले कोरोना महामारी अवधिभरका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत फिजिसियन तथा फोक्सो रोग विशेषज्ञ डा. सुवास योगीलाई स्वास्थ्य परामर्शदाताको रुपमा नियुक्त गरेको छ । साथै महासंघले कोरोना संक्रमित तथा कोरोनाको उच्च जोखीममा रहेका संचारकर्मी तथा पत्रकारहरुकालागि हटलाईन नम्बर समेत संचालनमा ल्याईसकेको छ ।
३१ बैशाख २०७८, शुक्रबार २१:०३ प्रकाशित