१४ बैशाख २०८१, शुक्रबार
कर्णालीमा तीन मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो
  • काँचुली खबर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) रहेका छन् ।

यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याएका हुन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसी रहेका थिए । राजीनामा दिनेहरु माओवादी केन्द्रकै मन्त्रीहरु हुन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन ।

गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका थिए । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो ।

शाहीले ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाएका छन् ।

  • २९ बैशाख २०७८, बुधबार १५:१६ प्रकाशित
  • Nabintech