देशले राष्ट्रिय भूमिका खोजेको छ, गुटीय सोचभन्दा माथि उठौं : डा. भट्टराई
  • काँचुली खबर

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशले जसपाको राष्ट्रिय भूमिका खोजेको बताएका छन् । राष्ट्रिय समस्याहरूको हल गर्न जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनै पर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै अब नयाँ सरकार गठनको चरणमा राजनीति प्रवेश गरेको छ । यद्यपि उनकै दलका अध्यक्ष महन्थ ठाकुरले भने नयाँ सरकार गठनमा जसपा सहभागी नहुने प्रतिक्रिया दिइसकेका छन् ।

महन्थको यो भनाइपछि डा. भट्टराईले अहिलेको प्रश्न एक थान सरकार बनाउन मात्र नभएर लोकतन्त्र रक्षाका लागि संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठेर जसपाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । नयाँ सरकार बनाउन बल अब दलहरूको कोर्टमा आएकोले जसपा पनि एकताबद्ध भएर अघि बढ्नु पर्ने उनको भनाई छ ।

‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले भनेका छन्, ‘त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नै पर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनै पर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्को रूपमा प्रस्तुत हुँदै आएका अध्यक्ष डा. भट्टराईले सोमबार ओलीलाई तत्काल बिदाइ गर्नुपर्ने बताएका थिए । सोमबार दिउँसो संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा जसपाका डा. भट्टराई-उपेन्द्र यादव पक्षका सांसदले विपक्षमा मतदान गरेका थिए भने अध्यक्ष ठाकुर पक्षका १५ सांसद पक्ष विपक्ष कतै नलागी तटस्थ बसेका थिए ।

  • २८ बैशाख २०७८, मंगलवार १२:५० प्रकाशित
  • Nabintech