नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ ।
सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् ।
पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । ‘हातखुट्टा चल्दैनन्, आँखा जुधाएर हेर्न सक्नुहुन्न,’ स्रोतले भन्यो, ‘दिसा-पिसाब गराइदिनुपर्छ, खाना पनि झोलजस्तो बनाएर पाइपबाट खुवाइदिनुपर्छ ।’
दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने डा। प्रत्युष श्रेष्ठ बताउँछन् ।
सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ । यही वैशाख दोस्रो साता उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेपछि उनी हाल खुमलटारस्थित निवासमै छिन् ।
२७ बैशाख २०७८, सोमबार ११:५० प्रकाशित