मेडिकल कलेज भित्रका औषधि पसलको अनुगमन
  • काँचुली खबर

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले आईतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरभित्रका औषधि पसलको अनुगमन गरेको छ । कोरोना बिरामीहरुको उपचारकालागि प्रयोग गरीने ‘रेम्डीसिभिएर’ नामक औषधीको अभाव भएको तथा कालोबजारीले चर्को मुल्यमा औषधि बेचिरहेको गुनासो बढिरहेका बेला आइतबार विभिन्न औषधी पसलहरुको अनुगमन गरीएको हो ।

अनुगमनका क्रममा कोहलपुर मेडिकल कलेजभित्र संचालनमा रहेको गौतम बुद्ध नेपालगञ्ज फार्मेशी प्रा.लि. कोहलपुर डिपोमा बैशाख महिनामा मात्र विभिन्न कम्पनीका ३ सय ६६ थान ‘रेम्डीसिभिएर’ औषधी खरिद भई आएको देखिएकोमा सो औषधि क-कसलाई, कुन-कुन मितिमा, कुन-कुन बिल नं. बाट, के-कति रकममा बिक्री वितरण गरेको जानकारी माग गरिएको छ ।

साथै सोको विवरण तीन दिनभित्र कार्यालयमा पेश गर्न निर्देशन दिईएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।

विवरण प्राप्त भएपछि मात्र “रेम्डीसिभिएर” को कालोबजारी भए नभएको भन्न सकिने उनले बताए । आइतबारको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल र सोहि कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका धन बहादुर बोहरा र लोकेश गिरी, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक कमल बहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो ।

  • २६ बैशाख २०७८, आईतवार २०:०९ प्रकाशित
  • Nabintech