लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान सवा ८ बजेतिर सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस पोष्ट गरे । कोरोनाले ग्रस्त बाँकेको कोहलपुर, दाङ र रुपन्देहीकालागि आवश्यक अक्सिजन लिक्विड र अक्सिजन सिलिण्डर आईपुगेको जानकारी दिदै मुख्यमन्त्री पोखरेलले पोष्ट गरेको स्टाटसमा हजार बढिले लाईक गर्दै खुसी ब्यक्त गरे । कतिपयले कमेन्ट मार्फत मुख्यमन्त्री पोखरेलको तारिफ समेत गरे ।
तर मुख्यमन्त्री पोखरेलको स्टाटसले भने कोरोना संक्रमित बिरामी, उपचारमा खटिएका चिकित्सक र अस्पताल ब्यवस्थापन समितिलाई भने अप्ठ्यारोमा पारेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा. दिनेश श्रेष्ठले कोहलपुरमा अक्सिजन लिक्विड नआएको प्रष्ट पारे । मुख्यमन्त्रीले अक्सिजन लिक्विड आयो भनि सामाजिक संजालमा उल्लेख गरेकाले भ्रम सृजना भएको बताउदै डा. श्रेष्ठले भने, ‘अहिलेसम्म हामीकहाँ अक्सिजन लिक्विड आईपुगेको छैन, भोलीसम्ममा आईपुग्छ होला ।’
डा. श्रेष्ठले मुख्यमन्त्रीको स्टाटसका कारण आफुहरु समस्यामा परेको बताए । कोरोना संक्रमितका आफन्त तथा अन्य निकायबाट समेत अक्सिजन लिक्विड आईपुगेको भन्दै थप बिरामी भर्नाकालागि दवाव दिन सुरु गरीएको श्रेष्ठले बताए । अक्सिजन लिक्विडको अभावमा अस्पतालले कोरोनाका थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको समेत डा. श्रेष्ठले प्रष्ट पारे ।
‘बिरगञ्ज नाका हुँदै ल्याउन लागिएको अक्सिजन लिक्विड बुटवलसम्म आईपुगेको खबर पाएका छौं’, डा श्रेष्ठले भने, ‘प्राविधिक समस्या नदेखिए भोलीसम्म कोहलपुरमा आईपुग्छ ।’
स्मरणीय रहोस, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन बिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै केहि दिन पहिलेदेखि अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो ।
२६ बैशाख २०७८, आईतवार ०९:३५ प्रकाशित