बाँकेको कोहलपुर नगरपालिकासँग आफ्नो एम्बुलेन्स छैन । नयाँ जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत नगरपालिकाले अहिलेसम्म एम्बुलेन्स खरिदमा कुनै चासो देखाएको छैन । एम्बुलेन्स खरिदकालागि रकम अभाव रहेको बताउँदै आएको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सुविधाकोलागि भने हरेक वर्ष लाखौंका विलासी गाडी खरिद गर्दै आएको छ ।
विभिन्न संचारमाध्यम र नागरीक स्तरबाट समेत एम्बुलेन्सको माग गर्दा समेत कानमा तेल हालेर बसेको नगरपालिकालाई कोहलपुर उद्योग वाणिज्य संघले अनुदानमा एम्बुलेन्स उपलब्ध गराएको छ । बुधबार कोहलपुर उद्योग वाणिज्य संघले नगरपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
मेयर साव ! अहिलेको आवश्यकता क्रेटा की एम्बुलेन्स ?
बाणिज्य संघले कोहलपुरका कोभिड संक्रमित बिरामीको उपचार प्रयोजनकालागि नि:शुल्क प्रयोग गर्ने गरी नगरपालिकालाई अनुदानमा एम्बुलेन्स उपलब्ध गराएको वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी दिए ।
कोहलपुर नगरपालिकाको समन्वयमा एम्बुलेन्स सेवा संचालन गरीने पौडेलले बताए । विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा कोभिडका विरामीहरुले एम्बुलेन्स सेवा नपाएको गुनासो बढेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकासँग समन्वय गर्ने गरी एम्बुलेन्स उपलब्ध गराईएको पौडेलले बताए ।
क्रेटा पछि कोहलपुर नगरपालिकाको ‘एसी काण्ड’
स्मरण रहोस कोरोनाकालकै बिचमा कोहलपुर नगरपालिकाले केही समय अगाडी ५० लाख मुल्य बराबरको सुबिधासम्पन्न क्रेटा कार भित्राएको थियो । जनप्रतिनिधि तथा कर्मचारीको सुविधाकालागि गाडी भित्राएको बताउँदै आएको नगरपालिकाले नगरवासीको सुविधाकालागि एम्बुलेन्स खरीद गर्न आनाकानी गर्नु गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै नागरीक स्तरबाट ब्यापक आलोचना भईरहेको छ ।
२३ बैशाख २०७८, बिहीबार १२:२० प्रकाशित