१४ बैशाख २०८१, शुक्रबार
टिकटकको नयाँ सिइओमा शोउजी चेउ नियुक्त
  • काँचुली खबर

लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव छ ।

शोउजी सिइओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओको जिम्मेवारी दिइएको छ । एक विज्ञप्तिमा बाइटडान्सका सिइओ यिमिंग झांगले भनेका छन्, ‘चेउ र भ्यानेस्साको नेतृत्वले दिगो वृद्धिको मार्ग प्रस्तस्त गर्नेछ ।’

चेउसँग टिकटक कम्पनी तथा प्रविधि उद्योगको बारेमा गहन ज्ञान रहेको र कम्पनीकै सुरुवाती लगानीकर्ताको टोलीलाई हाँकेको र प्रविधि क्षेत्रमा एक दशकसम्म काम गरेको अनुभव रहेको भन्दै झांगले उनले कम्पनीमा गहना थप्नुका साथै कर्पोरेट गभर्नेन्स र दीर्घकालीन व्यवसायिक प्रयासहरुमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

टिकटकका नव नियुक्त प्रमुख कार्यकारी चेउ सिंगापुरका हुन् । उनी सिंगापुरस्थित टिकटक कार्यालयबाट काम गर्नेछन् । यसबाट टिकटकलाई अमेरिकी सिइओ नै आवश्यक हुन्छ भन्ने मान्यता पनि खण्डित भएको बताइएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १२:४७ प्रकाशित
  • Nabintech