१५ चैत्र २०८०, बिहीबार
कोरोनाको कहर : मनोवल बढाउने १० उपाय !
  • काँचुली खबर

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेको छ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपतिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ ।

तर लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउछ । कोरोनाको संक्रमणलाइ जित्न रोग-प्रतिरोधात्मक क्षमता मजबुत हुनु पर्छ ।

कोरोनाको संक्रमणसँग लड्न शरिरमा रोग प्रतिरोधात्मक शक्ति आबस्यक पर्छ भने मानसिक वा मनोबैज्ञानिक रुपमा मनोवल (आत्मवल वा आत्मशक्ति) उच्च हुनुपर्छ ।

शरिरिक रुपमा स्वास्थ हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन संतुलित खानपिन, ब्यायाम, प्रयाप्त आराम र निन्द्रा जस्ता कुरामा आवस्यक पर्छ ।

जसरी ब्यक्तिको आआफ्नै शारीरिक क्षमता हुन्छ, त्यसैगरी प्रत्येक ब्यक्तिको आ आफ्नै मानसिक क्षमता हुन्छ, जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ । कुनै कार्यमा सफलता पाउन, कुनै घटना वा परिस्थितिको सामाना गर्न ब्यक्तिमा भएको मनोवलले महत्त्वपूर्ण भुमिका खेलिरहेको हुन्छ । आत्मबल उच्च भएको ब्यक्तिमा आत्मविश्वास पनि उच्च नै हुने गर्दछ ।

हामीले सुन्दै आएका छौं, कोरोनाको संक्रमणलाई जित्न मनोवल उच्च बनाउनु पर्छ । कोरोनालाई जितेकाहरुको पनि एउटै भनाइ छ, ‘मनोबल उच्च भए कोरोना भाईरसलाई जित्न सकिदो रहेछ ।’ कोरोनाको भ्याक्सिन भनेकै मनोवल हो । तर आत्मबल वा मनोबल कसरी उच्च बनाउने रु मनोबल बढाउँछु भन्दा आफै बढ्ने पनि होइन । के गर्यो भने आत्मबल उच्च हुन्छ ?

यस्ता छन मनोबल बढाउने ब्यबहारिक उपायहरू ।:

१) सुरक्षाका उपाय अपनाउनु पर्छ :

कोरोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइसाथ अवलम्बन गर्नुपर्छ । भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने । यसो गर्दा संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफु सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल पनि उच्च हुन्छ ।

२) कोरोनासँग लड्न मानसिक रुपमा तयार हुनुपर्छ :

य‍ो प्रकृति विपत्ति भएकोले हाम्रो हातमा छैन । यो समस्या विश्वको नै साझा समस्या हो । यसकारण यसलाई स्विकार गर्नुको विकल्प छैन । कथम कदाचित संक्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनु पर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ ।

यसले हामीलाई संक्रमणसँग जुझ्न सहज बनाउछ । कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

३) परिस्थिति प्रति सकारात्मक धारणा :

समय सधै एकैनास हुँदैन । अहिलेको समय कठिन भए पनि एक दिन अवस्य टरेर जान्छ । भागवत गितामा भने झै, ‘जे हुन्छ राम्रो कै लागि हुन्छ ।’ त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोवल उच्च राख्दा आत्मविश्वास र धौर्यता दुवै बढेर जान्छ । यस्तो बेला आत्तिनु हुन्न भनेर सोच बनाउनु पर्छ ।

कोर‍ोनाको संक्रमण भएपनि मरिन्छ नै भन्ने हुदैन । कोरोनाको संक्रमणका कारण हुने मुत्यदर अत्यन्त न्युन छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मवलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनु पर्छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४) हौसला तथा प्रेरणा :

विपत्तको समयमा हौसला र प्रेरणा अति आवस्यक हुन्छ । घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मियताले विपत्तिसँग जुझ्न उर्जाको काम गर्छ । विपत्तिको समयमा आफुलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने ब्यक्तिहरुसँग आफ्नो मनका भावनाहरु बाँड्ने गर्नुपर्छ ।

विपत्तको वेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ ।

आफुले आफैलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ‘म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएको छु’ जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्म-सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सवल पक्षहरु लेख्ने, मनन वा उजागर गर्नेले पनि आत्मबल बढ्छ ।

५) मनोसामाजिक सहयोग :

विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समयसम्मको मनोबैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले ब्यक्तिको आत्मबल र आत्मविश्वासलाई कमजोर बनाउन सक्छ । यस्तो अबस्थामा भौतिक सहयोग मात्र प्रयाप्त हुदैन । मनोबैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिक रुपमा स्बस्थ ब्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६) तनावको व्यवस्थापन :

तनावले शारीरिक तथा मानसिक रुपमा सिथिल बनाउछ । विपत्ति समयमा तनाव बढ्ने नै भयो । नियमित रुपमा योग-ध्यान, ब्यायम गर्ने, गहिरो श्वासप्रश्वासको अभ्यासहरु गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, प्रयाप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ । जसले तनाव कम गर्न मद्दत पुर्‍याउछ । ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

७) आनन्दायक क्रियाकलाप :

कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलाहरुमा धेरै भन्दा धेरै समय बिताउनु पर्छ । जस्तो आफुलाई मन पर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगित सुन्ने, लेख्ने, आफ्नो आस्था विस्वास अनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता बिषयमा सकृय हुनाले एक त समयको सदुपयोग हुने भयो अर्कोतर्फ दैनिकीलाई सहज बनाउन सकियो । आफुले दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने गर्नु पर्छ । नत्र खाली दिमाग सैतानको घर हुन जान्छ ।

आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको बिकास हुनुका साथै आत्मबल समेत बढ्छ ।

८) सकारात्मक जीवनशैली :
कोरोनाको संक्रमण र निषेधाज्ञाले गर्दा अहिले ब्यक्तिको जिवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएको छ । तनावको बेला ब्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ ।

सकारात्मक जीवन शैली अपनाएको खण्डमा ब्यक्ति चाडै पुर्व अवस्थामा फर्कन सक्छ । आत्मबल पहिला जस्तै उच्च हुन्छ । तर नकारात्मक जीवन शैलीले भने समस्या जटिल हुदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ ।

हाम्रो दैनिक जीवनशैली र क्रियाकलापहरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९) सत्यतथ्य सुचना र जानकारी :

विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ । तनावको बेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमि आउँछ । हामी भावनामा बग्न सक्छौं । यस्तो अवस्थामा हामीले तथ्य परक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ ।
बिषयवस्तु र घटनालाई हेर्ने दृष्टिकोण सहि बनाउनुपर्छ ।

अहिले अवस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समचारहरु बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । यस्ता समचारहरु दिनमा १/२ पटक भन्दा बढि नहेरेकै राम्रो हो । दुखद समचारहरु हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ । मन दुखी हुन्छ । तनाब बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

१०) सीप, तालिम र शिक्षा :

कुनै पनि बिषयमा आवस्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मवल अवस्य बढ्छ नै । कोरोनाको संक्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व-हेरचाहका विषयमा जानकारी तथा सरसफाई लगायत अन्य विषयको तालिमले आत्मवल बढाउन मदत गर्छ ।

फोन मार्फत नि:शुल्क मनोपरामर्श सेवाक‍ो व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

 

(लेखक मनोविद् हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न छन् ।)

  • २० बैशाख २०७८, सोमबार २०:४५ प्रकाशित
  • Nabintech