लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष माग दाबी पेस गरेको छ । आइतबार मध्यान्ह बसेको नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले सरकार निर्माणका लागि मागदाबी पेस गरेको हो ।
लुम्बिनी प्रदेश काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाका अनुसार संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार गठनका लागि मागदाबी पेस गरिएको छ । उनले भने, ‘संविधानको धारा ६८ उपधारा २ को १ बमोजिम सरकार बनाउन माग दाबी पेस गरेका छौँ । अब प्रदेश प्रमुखले कहिले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुन्छ, गर्नु होला ।’ माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेर माग दाबी गरिएको कडरियाले जानकारी दिए ।
लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेपछि शंकर पोखरेलको बहुमत गुमेको छ । मुख्यमन्त्री पोखरेलले ओलीसहित ४१ सांसदको हिसाब गरेका थिए । तर विमलाले माओवादी रोजेपछि पोखरेलसँग अब ४० मात्रै सांसद रहेका छन् । केसीले वलीसहित माओवादीका १८, कांग्रेसका १९, जसपाका २ र जनमोर्चाका एकजना सांसदको साथ बहुमत देखाउँदै माग दाबी गरेका हुन् । बिमला माओवादीतर्फ लागेपछि केसीको पक्षमा ४१ सांसदसहित बहुमत देखिएको छ ।
१९ बैशाख २०७८, आईतवार १४:३८ प्रकाशित