विप्लवका दाजु भन्छन, ‘पार्टीले पुनः हतियार उठाउन सक्छ’
  • काँचुली खबर

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाजु चन्द्रविक्रम चन्द ‘वीरजंग’ रिहा भएका छन् ।हिरासतबाट छुटेपछि प्रतिक्रिया दिँदै उनले आफ्नो पार्टीले पुनः हतियार उठाउन सक्ने संकेत समेत गरे । जिल्ला अदालत पश्चिम नवलपरासीको आदेशपछि उनलाई रिहा गरिएको हो । अदालतले २५ हजार धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको भए पनि कागजी प्रक्रिया पूरा गर्न ढिलो हुँदा शुक्रबार रिहा भएका हुन् ।

केन्द्रीय सदस्य बाला थापाका अनुसार वीरजंग शुक्रबार जिल्ला अदालत पश्चिम नवलपरासीमा २५ हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनी अहिले गृहजिल्ला कपिलवस्तु लागेका छन् ।

वीरजंगले अहिलेको व्यवस्थाबाट परिवर्तन सम्भव नभएकाले व्यवस्था नै परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘यो व्यवस्थाबाट परिवर्तन सम्भव छैन, दलाल संसदीय व्यवस्थालाई परास्त गर्न वैज्ञानिक समाजवादमा जानका लागि संघर्षको विकल्प छैन ।’

वीरगंजले संघर्षका लागि जनता संगठित गरेर जानुको विकल्प नभएको बताए । उनले भने, ‘यो राज्यसत्ताले कस्ता रवैया अपनाउँछ सोहीअनुसारको संघर्ष गर्नुपर्ने हुन्छ । त्यो जस्तोसुकै पनि हुन सक्छ ।’

०७६ असोजमा गिरफ्तार भएपछि उनलाई दाङमा १० महिना, काभ्रेमा एक महिना, भोजपुरमा एक महिना, संखुवासभामा १७ दिन, सुनसरीमा १९ दिन, ललितपुरमा १३ दिन, काठमाडौंमा दुई दिन, पश्चिम नवलपरासीमा आठ दिन गरी त्यसपछि चितवन काराकार राखिएको थियो ।

जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई ०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो ।

अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो । वीरजंगले आफू कारागारमा रहँदा आस्थाको बन्दीसरह व्यवहार भएको र कुनै यातना नदिइएको समेत बताए । उनी बम विस्फोटको मुद्दामा कारागार चलान भएका थिए ।

सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता-कार्यकर्ता छुट्ने क्रम जारी छ । यसअघि वीरजंगलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।

नयाँपत्रिकाबाट

  • १७ बैशाख २०७८, शुक्रबार १५:३८ प्रकाशित
  • Nabintech