आइसियू बेडको अभाव हुन दिन्नौं : केसी
  • काँचुली खबर

कोरोना भाईरसको प्रकोपले बाँके जिल्लाको जनजिवन अस्तब्यस्त भएको छ । दिनहुँ सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएका छन । जिल्लाका मुख्य तिन वटा अस्पतालले बिरामीको चाँप थेग्न सकिरहेका छैनन् । पहिलेदेखी तयारी अवस्थामा रहेका आइसियू बेड भरीभराउ हुँदा धेरै संक्रमितले अत्यावश्यक उपचार सेवा समेत पाउन सकिरहेका छैनन् ।

बाँकेका हरेक स्थानिय तहमा न्यूनतम सुविधा सहितको कोभिड अस्पताल निर्माण गर्नुपर्ने माग उठिरहेको छ । कतिपय स्थानिय तहले अस्थायी कोभिड अस्पताल समेत संचालनमा ल्याएका छन । तर प्रयाप्त आइसियू बेडको अभावमा अझैं पनि कोरोनाका बिरामीहरुको प्रभावकारी ब्यवस्थापन हुन सकिरहेको छैन ।

यस्तो विषम अवस्थामा बाँकेमै रहेको एउटा उद्योगले भने अस्पतालकालागि आवश्यक बिभिन्न सामग्री उत्पादन गरी कोरोना संकट ब्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । बाँकेको कोहलपुर नगरपालिका-९ पिपिरीमा रहेको युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिले अस्पताल तथा क्वारेन्टाईनकालागि आवश्यक आइसियू बेडको उत्पादन गरीरहेको छ ।

७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योगले २०७७ वैशाख १२ देखि आइसियू बेड उत्पादन थालेको कम्पनीका संचालक सतिष केसीले जानकारी दिए । केसीका अनुसार सुरुमा ५ जना कर्मचारीबाट अस्पतालकालागि आवश्यक आइसियू बेड बनाउन सुरु गरेको कम्पनीले माग बढेसँगै कर्मचारीको सँख्या बढाएर ३० पुर्याएको छ ।

केसीका अनुसार, पहिलो चरणको कोरोनाकालमा उनीहरूले उत्पादन गरेका अस्पताललाई चाहिने फर्निसिङ सामग्रीहरूको माग भारतबाट समेत भएको थियो । त्यसक्रममा भारतबाट १२ हजार अस्पताललाई चाहिने बेडको माग आएको केसी सुनाउँछन ।

यद्यपी आफ्नै जिल्लाभित्रका अस्पतालहरुबाट भने सोचेजस्तो माग नआएको केसीको भनाई छ । स्थानिय स्तरमै अन्तराष्ट्रिय मापदण्डको आइसियू बेड उत्पादन हुँदै आएपनि यहाँका केही अस्पताल बाहेक अरुले अनेत्रैबाट मगाउने गरेको प्रति केसीले दुख ब्यक्त गरे । ‘हामी माग अनुसारको जति पनि आइसियू बेड उत्पादन गर्न सक्षम छौं’, केसीले भने, ‘महामारीको बेला अनेत्रबाट मगाउनुपर्ने अवस्था आउन नदिन हामीले दिनरात आइसियू बेड उत्पादनलाई निरन्तरता दिईरहेका छौं ।’


आइसियू बेड उत्पादनका साथै माग गर्ने अस्पतालले आग्रह गरेमा उचित स्थानमा बेड सेटअपको ब्यवस्थापन समेत आफुहरुले नै गरिदिने गरेको केसी बताउछन ।

कोरोना कहरको बीचमा क्वारेन्टिन र आइसोलेसनका लागि आवश्यक सामान्य बेडहरू पनि आफुहरुले निर्माण गर्ने केसीले बताए । सयौंको सँख्यामा अहिलेपनि आइसियू तथा सामान्य बेडहरु आफुहरुसँग स्टकमा रहेको केसी बताउँछन ।

नेपालकै बिभिन्न जिल्ला तथा भारतबाट समेत आइसियू बेडको माग बढिरहेको समयमा जिल्लाभित्रैका अस्पताल तथा स्थानिय तहहरुले भने बाहिरबाट आइसियू बेड मगाउनु आर्थिक र ब्यवहारीक रुपमा खर्चिलो हुने भएकाले स्थानिय उत्पादनलाई ग्रहायता दिनुपर्ने केसीको बुझाई छ ।

  • १६ बैशाख २०७८, बिहीबार १३:१७ प्रकाशित
  • Nabintech