घाटगद्दीमा राखेको दाउरामा आगलागी
  • काँचुली खबर

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगन्जस्थित घाटगद्दीस्थानमा बुधबार आगलागी हुँदा घाटगद्दी गरेर राखिएका केही चट्टा दाउरा जलेर नष्ट भएको छ ।
आगलागीबाट घाटगद्दी गरेर राखिएका अन्य जातका दाउरा तीन चट्टा पुर्ण रुपमा जलेर नष्ट भएको र अरु तीन चट्टा दाउरामा सामान्य क्षति भएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुन्ज कार्यालयको सामुन्नेमा रहेको उक्त घाटगद्दीस्थानमा आगलागी भएको भन्ने बुधबार बिहान ११ बजेतिर आफुले जानकारी पाएको र जानकारी पाउनासाथ आफू उक्त स्थानमा पुगी आगलागी नियन्त्रण गरेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको दमकल, कोहलपुर नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र वन रक्षक, वन कर्मचारी, वन हेरालु तथा स्थानीयको सहयोगमा उक्त आगो दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको वन अधिकृत क्षेत्रीले बताए ।
समयमै सबैको प्रयासमा आगो नियन्त्रणमा आएको हुँदा सम्भाबित थप क्षति हुनबाट भने बचेको छ । उक्त घाटगद्दीस्थानमा बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम अन्तर्गत राष्ट्रिय वनमा कटान गरिएका करोडौं मूल्य बराबरका काठ दाउराहरु घाटगद्दी गरेर राखिएको छ ।

वरिपरि रहेको जङ्गल क्षेत्रमा भने आगो लागेको छैन । जहाँ घाटगद्दी गरेर राखिएको छ सोही स्थानको दाउराको चट्टामा मात्र आगलागी हुनु शंकास्पद देखिएको छ । आगलागी के कसरी भयो भन्ने बारेमा अनुसन्धान शुरु गरिएको र थप कुराहरु अनुसन्धानपछि खुल्ने वन अधिकृत क्षेत्रीले जानकारी दिए ।
आगलागी भएको उक्त स्थानको नजिकै बाँके राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय तथा शमसेरगन्ज सव-डिभिजन वन कार्यालयको कार्यालय रहेका छन ।

  • १५ बैशाख २०७८, बुधबार १७:५५ प्रकाशित
  • Nabintech